रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


२०८३ श्रावण १२ मंगलबार २२:२४ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठक बिहीबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ।

बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।

रास्वपाका अनुसार सबै राजनीतिक दललाई औपचारिक पत्राचार गरिसकिएको छ। साथै सभापति लामिछानेले विभिन्न दलका शीर्ष नेतासँग टेलिफोनमार्फत सम्पर्क गरी बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

महामन्त्री आचार्यले सुनसरी घटनापछि उत्पन्न असहज परिस्थितिमा सामाजिक रूपमा फैलिन सक्ने द्वेष र तनाव न्यूनीकरण गर्दै सद्भाव, शान्ति र सुरक्षा कायम गर्न प्रशासनिक प्रयास भइरहेका बेला राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक ठानिएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताए।

बैठकमा सुनसरी घटनाबाट उत्पन्न परिस्थितिको समीक्षा, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उपाय र राजनीतिक दलहरूबीच साझा धारणा निर्माणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७