पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सबै सामानसमेत फिर्ता गर्न आदेश


२०८३ भदौ १ सोमबार १९:३३ बजे

काठमाडौं :  सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधानसम्पादक पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न परमादेश जारी गरेको छ।बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो।

वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। उनको पक्राउविरुद्ध उनकी पत्नी सरस्वती श्रेष्ठका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

रिटमाथि भएको दुईतर्फी सुनुवाइपछि सर्वोच्चले श्रेष्ठलाई थुनामा राख्नु कानुनसम्मत नदेखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो। सर्वोच्चले श्रेष्ठलाई रिहा गर्न आदेश दिनुका साथै जनआस्था प्रकाशनको कार्यालयबाट बरामद गरिएका कम्प्युटर, ल्यापटप, मोबाइल, सीपीयू, आईप्याडलगायतका सामग्रीसमेत फिर्ता गर्न आदेश दिएको छ।

इजलासले सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा पत्रकार वा सम्पादकलाई पक्राउ गरी थुनामा राख्ने अवस्था विद्यमान नरहेकोसमेत आदेशमा उल्लेख गरेको छ। संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता तथा प्रकाशन र प्रसारणको अधिकारलाई ध्यानमा राख्दै राज्यले कानुन बनाएर पनि मनासिब प्रतिबन्धबाहेक सञ्चारमाध्यमको प्रकाशन तथा पत्रकारितामाथि अनुचित हस्तक्षेप गर्न नसक्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

यसअघि श्रेष्ठलाई साउन २७ गते पक्राउ गरी काठमाडौंको प्रहरी हिरासतमा राखिएको थियो। उनको घर तथा जनआस्थाको कार्यालयमा समेत खानतलासी गरी विभिन्न विद्युतीय उपकरण तथा सामग्री बरामद गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७