उपसभामुखको जाहेरीमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
श्रेष्ठलाई पक्राउ गर्न अदालतको अस्वीकार, ठाकुरको जाहेरीमा पूर्जी जारी भएन
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुवीकुमारी ठाकुरले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर, ललितपुरको टोली सोमबार श्रेष्ठविरुद्ध पक्राउ पूर्जी माग गर्दै जिल्ला अदालत पुगेको थियो। तर अदालतले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो।
उपसभामुख ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। जनआस्थाको फेसबुक पेज तथा अनलाइनमा प्रकाशित सामग्रीले आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजमा आँच पुर्याएको तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने नियत राखिएको उनको आरोप छ। जाहेरीमा प्रकाशित समाचारका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गहिरो चोट पुगेको उल्लेख गरिएको छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी गर्दै ठाकुरले ती व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाएकी छन्।
श्रेष्ठ यसअघि पनि एक महिला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई जोडेर प्रकाशित समाचारको विषयमा पक्राउ परेका थिए। वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार नै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि रिहा भएका श्रेष्ठविरुद्ध पुनः पक्राउ पूर्जी माग गर्दै प्रहरी अदालत पुगे पनि जिल्ला अदालत, ललितपुरले भने पक्राउ पूर्जी जारी नगरेको हो।
.gif)

.png)

