बाढीले उजाड्यो पत्रकार पौडेलको परिवार : कुशको शव बनाएर दाहसंस्कार


२०८३ भदौ १७ बुधबार १७:०७ बजे

काठमाडौं : भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य एक सातासम्म पनि नभेटिएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको छ। बाढीमा परी पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी सम्पर्कविहीन भएका थिए। 

विभिन्न स्थानमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बुधबारदेखि अन्तिम संस्कारको प्रक्रिया सुरु गरेको हो। पौडेलले सामाजिक सञ्जालमार्फत परिवारका पाँचै सदस्यको खोजी गर्दा पनि नभेटिएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन्। ‘गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी र बहिनीको खोजी गर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ,’ उनले लेखेका छन्।

बाढीमा बेपत्ता भएको निराजन पौडेलका बुवा, आमा, अंकल, आण्टी र बहिनी ।

पौडेल परिवारको अन्तिम संस्कार काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा गरिएको छ। नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पौडेलका परिवार बाढीपछि सम्पर्कविहीन भएका थिए। पौडेलले यसअघि परिवारका सदस्यको खोजी तथा उद्धारका लागि सहयोग गरिदिन सार्वजनिक रूपमा आग्रह गरेका थिए। ‘बुवा, ममी, अंकल, अन्टी र बहिनीको खोजी गरिदिनुहुन सबैसँग आग्रह गर्दछु,’ उनले यसअघि भनेका थिए।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तथा तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। विपद्पछि सुरक्षा निकाय तथा विभिन्न टोलीले बेपत्ताको खोजी तथा उद्धार जारी राखे पनि अझै सबै बेपत्ताको अवस्था यकिन हुन सकेको छैन। पौडेल रातोपाटी डटकममा कार्यरत पत्रकार हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७