दुई आयोजनामा खोजी रोकियोः जीवित व्यक्ति भेटिने सम्भावना नरहेको प्राविधिक निष्कर्ष

रसुवाका सुरुङमा आठौँ दिन पनि उद्धार शून्य


२०८३ भदौ १७ बुधबार १३:५७ बजे

रसुवा : रसुवा बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा आठौँ दिनसम्म पनि कुनै सफलता हात परेको छैन। नेपाली सेनाको ६ नम्बर बाहिनीपति सहायक रथी तथा ‘फर्वाड जोइन्ट अप्रेसन सेल’का कमान्डर उज्ज्वलविक्रम राणाका अनुसार उनको जिम्मेवारी क्षेत्रमा रहेका चार प्रमुख जलविद्युत् आयोजनाका सुरुङमध्ये दुईवटामा खोजी स्थगित गरिएको छ भने दुईवटामा उद्धार प्रयास जारी छ।

रसुवागढी हाइड्रोपावरको सुरुङमा खोजी कार्य हाललाई पूर्णरूपमा बन्द गरिएको छ। सुरुङको तीन तला तल रहेको टर्बाइन क्षेत्र पूरै पानी र लेदोले भरिएको तथा त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नरहेको प्राविधिक निष्कर्षपछि खोजी रोकिएको हो। आयोजनाका इन्जिनियरहरूको प्रत्यक्ष अवलोकन र सुझावका आधारमा थप अगाडि बढ्न सकिने अवस्था नरहेको राणाले बताए।

त्यस्तै, लाङटाङको सुरुङमा उद्धार टोली ६४ मिटरसम्म भित्र पुगे पनि त्यसपछि अगाडि बढ्न सकेको छैन। सुरुङभित्र दुई फिटको समेत खाली ठाउँ नरहेको र मानिस घस्रिएरसमेत प्रवेश गर्न नसक्ने अवस्था भएपछि टोली अन्तिम बिन्दुबाट फर्किएको हो।

चिलिमे र अपर त्रिशूली–१ मा खोजी जारी

तर चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भने उद्धार प्रयास जारी छ। कोही जीवितै भेटिन सक्ने आशामा टोलीले जोखिम मोलेर खोजी गरिरहेको छ। अपर त्रिशूली–१ को २१६ मेगावाट आयोजनाको सुरुङमा पनि आजदेखि पुनः उद्धार टोली प्रवेश गरेको छ। यसअघि पाँच पटकसम्म प्रयास गर्दा छातीसम्म आउने लेदो र गेग्रानका कारण टोली भित्र प्रवेश गर्न सकेको थिएन। आज अवस्था केही सहज देखिएपछि पुनः टोली सुरुङभित्र प्रवेश गरी खोजी सुरु गरेको राणाले बताए।

भौगोलिक विकटता र सुरुङभित्र थुप्रिएको ठूलो परिमाणको लेदोका कारण उद्धार कार्य कठिन बनेको छ। सुरक्षाकर्मीहरूले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको राणाको भनाइ छ। नेपाली सेनाको पछिल्लो अपडेटअनुसार चिलिमे हाइड्रोपावरमा विदेशी उद्धारकर्मीसहित २६ जनाको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी करिब १५० मिटरभित्रसम्म पुगेको थियो। त्यसपछि भिरालो भाग सुरु भएको र सो क्षेत्र पूर्णरूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ।

यस्तै, त्रिशूली–३ ‘ए’ आयोजनाको टनेल हेड फेला परेको छ। तीनवटा एक्स्काभेटरबाट माटो पन्छाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा बनाइएको होलबाट अत्यधिक पानी आएपछि उक्त स्थानबाट प्रवेश गर्न असम्भव देखिएको सेनाले जनाएको छ। त्यसपछि टनेलको आउटलेटबाट पुनः होल पार्ने काम भइरहेको छ।

त्रिशूली–३ ‘बी’ आयोजनाको कार्यालय तथा निवास क्षेत्र पहिचान गरी एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माणको काम पनि जारी रहेको नेपाली सेनाले जनाएको छ। बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारमा समय बित्दै जाँदा चुनौती थपिँदै गएको छ। सुरुङभित्रको लेदो, गेग्रान, पानी तथा क्षतिग्रस्त संरचनाका कारण उद्धार टोलीले प्रत्येक चरणमा जोखिम मूल्यांकन गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७