मेसिन पुगे पनि सुरुङ सफा गर्न ३–४ महिना लाग्छ : नेपाली सेनाका कमाण्डर
रसुवाका सुरुङमा उद्धार चुनौतीपूर्ण, बाटो नहुँदा मेसिन पुर्याउनै समस्या
रसुवा : बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार झन् चुनौतीपूर्ण बन्दै गएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको ६ नम्बर बाहिनीपति सहायक रथी तथा ‘फर्वाड जोइन्ट अप्रेसन सेल’का कमान्डर उज्ज्वलविक्रम राणाका अनुसार सुरुङभित्र जमेको लेदो र गेग्रान हटाउन आवश्यक आधुनिक मेसिन घटनास्थलसम्म पुर्याउनै कठिन छ।
मेसिन पुर्याउन सकिए पनि सुरुङभित्रको लेदो तथा गेग्रान हटाउन लामो समय लाग्ने उनको भनाइ छ। ‘खोलाले सबै बाटो लगेको छ । बाटोको समस्याले गर्दा मेसिन लान नसकेको हो। तर मेसिन गएता पनि काम गर्न सक्ने अवस्था छैन,’ राणाले भने, ‘टनेलभित्र जम्मै जमेका कुराहरू दुई–तीन दिनमै निकाल्न सकिने सम्भावना छैन। तीनदेखि चार महिनामा पनि ननिस्कने अवस्था मैले देखेको छु।’
उनका अनुसार रसुवागढी हाइड्रोपावरको टर्बाइन क्षेत्र पूरै पानी र लेदोले भरिएको छ। त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नरहेको निष्कर्षपछि हाललाई खोजी कार्य रोकिएको उनले बताए। यस्तै, लाङटाङस्थित सुरुङमा नेपाली सेनाको टोली ६४ मिटरसम्म भित्र पुगे पनि करिब दुई फिटको मात्र ठाउँ रहेकाले थप अगाडि बढ्न नसकेको राणाले जानकारी दिए। २१६ मेगावाट क्षमताको आयोजनाको सुरुङमा भने मंगलबारदेखि पुनः खोजी सुरु गरिएको छ।
धुन्चेभन्दा उत्तरी क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध रहेकाले उद्धार तथा राहतका लागि हाल हवाई उद्धार (एयरलिफ्ट) बाहेक अर्को विकल्प नरहेको सेनाले जनाएको छ। राणाका अनुसार बाढीका क्रममा नदीको बहाव सामान्य अवस्थाभन्दा करिब ४५ मिटर माथिसम्म पुगेको थियो। त्यसबाट टिमुरे र स्याफ्रुबेसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।
स्याफ्रुबेसीको आधाभन्दा बढी बस्ती बाढीले बगाएको र टिमुरेको अवस्था अझै जटिल रहेको उनले बताए। हाल टिमुरेमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरी शव निकाल्ने काम भइरहेको छ। हराइरहेकाहरूको खोजीका लागि जंगल तथा नदी तटीय क्षेत्रलाई विभिन्न सेक्सनमा विभाजन गरी सेनाका टोली परिचालन गरिएको राणाले जानकारी दिए।
उनका अनुसार सरकारले उद्धारका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराएको छ। ‘नेपाल सरकारले स्रोत र साधन पर्याप्त उपलब्ध गराएको छ, हामीसँग सामग्रीको अभाव छैन,’ राणाले भने, ‘अझै पनि कोही जीवितै फेला पर्छन् कि भन्ने आशमा हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौँ।’
.gif)

.png)

