पानी र गेग्रानले पुरिएपछि माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार चुनौतीपूर्ण
काठमाडौं : भोटेकोशी–त्रिशूली बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धार चुनौतीपूर्ण बनेको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवर्द्धित ६० मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङमा ३५ देखि ४० जनासम्म श्रमिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ। उनीहरू पाँच दिनदेखि सुरुङभित्र सम्पर्कविहीन अवस्थामा रहेका छन्।
उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, सुरुङ विज्ञ तथा प्राविधिकसहितको टोली परिचालन गरिएको छ। उद्धार टोलीले सुरुङको स्थान पत्ता लगाए पनि पानी र लेदोका कारण भित्रसम्म पुग्न सकेको छैन। उद्धारका लागि रातभरदेखि सुरुङ क्षेत्रमा खन्ने तथा पानी र गेग्रान हटाउने काम भइरहेको छ। उद्धार अभियानको नेतृत्व गर्दै फिल्डमा खटिएका सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार सुरुङको क्राउन ब्लास्ट गरेर हेर्दा त्यहाँसम्मै पानी भरिएको पाइएको छ। ‘सुरुङभित्र पानी नभएको भए सम्भावित रूपमा मानिस फसेको स्थानसम्म पुग्न सकिन्थ्यो। तर पानी भरिएका कारण अहिले प्रवेश गर्न सक्ने अवस्था छैन,’ न्यौपानेले बताए।
उनका अनुसार सुरुङभित्र थुप्रिएको पानी, लेदो तथा ढुंगा–माटो हटाउने काम भइरहेको छ। करिब ४० मिटर चौडाइ र ४० मिटर उचाइ क्षेत्र गेग्रानले भरिएको उनले जानकारी दिए। ठूला मेसिन घटनास्थलसम्म लैजान कठिन भएपछि उपलब्ध पुरानै मेसिन प्रयोग गरेर उद्धारको काम अघि बढाइएको छ। पानी निकासका लागि आवश्यक स्थानमा ब्लास्टिङसमेत गरिँदै आएको न्यौपानेले बताए।
सुरुङ क्षेत्रमा उद्धारकर्मीहरूले बेल्चालगायत सामान्य उपकरण प्रयोग गरेर लेदो र गेग्रान हटाइरहेको दृश्य सार्वजनिक भएपछि उद्धारमा आधुनिक उपकरण प्रयोग नभएको भन्दै प्रश्नसमेत उठेको छ। यस विषयमा न्यौपानेले उद्धार स्थलमा ठूला एक्स्काभेटर पुर्याउन कठिन रहेको बताए। उनका अनुसार दुईवटा ठूला एक्स्काभेटर आवश्यक भए पनि हेलिकप्टरबाट ल्याउन सम्भव छैन। पार्टपुर्जा छुट्टाछुट्टै ल्याएर घटनास्थलमै जडान गर्दा पनि केही दिन लाग्ने भएकाले अहिले उपलब्ध उपकरणबाटै काम भइरहेको उनको भनाइ छ।
सुरुङभित्र जम्मा भएको पानी पम्पमार्फत बाहिर निकाल्ने प्रयाससमेत भइरहेको छ। यद्यपि, हालकै गतिमा काम अघि बढाउँदा सम्भावित रूपमा मानिस फसेको स्थानसम्म पुग्न अझै समय लाग्न सक्ने उद्धारमा संलग्न टोलीले जनाएको छ।
.gif)

.png)

