को हुन् अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा ?
सुरक्षा मामिलादेखि कूटनीतिसम्मको दुई दशक लामो अनुभव
काठमाडौं : सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गर्ने क्रममा अमेरिकाका लागि थापाको नाम अघि सारेको हो।
सुरक्षा नीति, संकट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय कूटनीतिमा दुई दशकभन्दा बढी अनुभव भएका थापा सुरक्षा मामिलाका जानकारका रूपमा परिचित छन्। उनको व्यावसायिक अनुभव सरकारी निकाय, नेपाली सुरक्षा संयन्त्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा कूटनीतिक क्षेत्रमा फैलिएको छ। कोलम्बिया विश्वविद्यालयदेखि हार्वर्डसम्म थापाले अमेरिकाको प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयअन्तर्गत स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स (SIPA) बाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।
त्यसअघि उनले SUNY Geneseo बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका थिए। उनले अमेरिकाको हार्वर्ड केनेडी स्कुलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पनि पूरा गरेका छन्। उक्त कार्यक्रम पूरा गर्ने उनी पहिलो गैरसैनिक नेपाली भएको विवरणमा उल्लेख छ। एसियाका १५ देशमा सुरक्षा तथा संकट व्यवस्थापन थापा सन् २०१७ देखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत छन्। उक्त भूमिकामा उनले एसियाका १५ देशमा जोखिम तथा संकट व्यवस्थापनसम्बन्धी कामको नेतृत्व गरेको विवरणमा उल्लेख छ।
यसअघि उनले २०१३ देखि २०१६ सम्म सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकारका रूपमा काम गरेका थिए। त्यस्तै, सन् २०१० देखि २०१३ सम्म द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र तथा नागरिक–सैन्य सम्बन्ध सल्लाहकारका रूपमा कार्यरत थिए। उनको कूटनीतिक अनुभव भने करियरको सुरुवाती चरणदेखि नै जोडिएको छ। उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल र सिंगापुरका स्थायी नियोगमा रहेर समेत काम गरेको विवरणमा उल्लेख छ।
नेपाली सुरक्षा निकायसँग पनि सहकार्य थापाले नेपालका रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई रणनीतिक परामर्श दिँदै आएका छन्।
विशेषगरी नेपाली सेनाका लागि पहिलो ‘नागरिक–सैन्य सम्बन्ध’ पाठ्यक्रम तयार पार्न उनले भूमिका खेलेको बताइएको छ। सुरक्षा क्षेत्रसम्बन्धी उनको योगदानका लागि उनले दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गरिसकेका छन्। दुई पटक उक्त सम्मान पाउने उनी पहिलो व्यक्ति भएको विवरणमा उल्लेख छ।
सन् २०२३ मा भारतीय सेनाले आयोजना गरेको पहिलो ‘चाणक्य डिफेन्स डाइलग’मा नेपालका तर्फबाट मुख्य वक्ताका रूपमा समेत थापा सहभागी भएका थिए।
अब अमेरिकाका लागि कूटनीतिक जिम्मेवारी
सरकारले अमेरिकाका लागि राजदूतमा नाम सिफारिस गरेसँगै थापाको सुरक्षा नीति, संकट व्यवस्थापन, नागरिक–सैन्य सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अनुभव कूटनीतिक भूमिकासँग जोडिने भएको छ। तर मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया पूरा हुन बाँकी छ। यी प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
.gif)

.png)

