एमालेको राष्ट्रिय भेलामा ३१६४ जना सहभागी हुने


२०८३ असोज २७ मंगलबार १५:४३ बजे
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेलाको तयारीका लागि पार्टीले पहिलो बैठकसमेत सम्पन्न गरेको छ।

भेला तयारीका लागि बसेको बैठकमा उपमहासचिव लेखराज भट्ट, सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित उपत्यकाका पार्टी कमिटी तथा जनसङ्गठनका नेताहरू सहभागी थिए।

बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागीको व्यवस्थापन र कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको थियो। उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्ताबेज र वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए।

पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख ढकालका अनुसार भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ। भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटी, जनसङ्गठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जना सहभागी हुनेछन्।

ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्।

त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाबाट गरी जिल्ला तहका ४४० जनाको सहभागिता रहनेछ। पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।

भेलामा संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख १९६ जना, उपप्रमुख ३४२ जना तथा जनसङ्गठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७