सांसद सुनारमाथि राज्यले अनुसन्धान गरे रास्वपाले सहयोग गर्छ : बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टीका सांसद खगेन्द्र सुनारमाथि राज्यका निकायले आवश्यक अनुसन्धान गरे पार्टीले सहयोग गर्ने बताएका छन्।
काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सांसद सुनारको विषय पार्टीको आन्तरिक संयन्त्रमा छलफल भइसकेको र अनुशासन आयोगमा पठाइएको जानकारी दिए।
अनुसन्धान प्रक्रिया टुंगोमा नपुग्दासम्म सांसद सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिइसकेको उनले बताए। अनुसन्धान लामो समयसम्म नलम्बिने विश्वास व्यक्त गर्दै उनले छानबिनपछि सत्यतथ्यका आधारमा आवश्यक निर्णय लिइने स्पष्ट पारे।
‘राज्यको संयन्त्रले आवश्यक अनुसन्धान गरोस्। त्यसमा पार्टीको तर्फबाट सहयोग हुन्छ। राज्यले गर्ने एउटा पाटो भयो, पार्टीको नेता भएको कारणले पार्टीले गर्ने अनुसन्धान पनि सुरु गरिसकेको छ,’ बुर्लाकोटीले भने।
सांसद सुनारसँग सम्बन्धित विषयमा बाहिर आएका आरोप तथा अडिओको सत्यतथ्य छानबिनबाट स्पष्ट हुने उनले बताए। उक्त अडिओ वास्तविक हो वा नक्कली भन्ने विषयसमेत अनुसन्धानबाट टुंगो लाग्ने उनको भनाइ छ।
‘जे छानबिन हुनुपर्ने हो, हुन्छ। सही छ, गलत छ वा केही समस्या छ कि छैन, बाहिरको अफवाह मात्रै हो कि अडिओ नक्कली हो भन्ने सत्यतथ्य आएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने। अनुसन्धानबाट सांसद सुनार दोषी देखिए पार्टीले आवश्यक कारबाही गर्ने पनि बुर्लाकोटीले स्पष्ट पारे।
.gif)

.png)



