एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

२६ गते वडा अधिवेशन


२०८३ असोज २२ बिहीबार १८:०३ बजे

काठमाडौं : नेकपा (एमाले)ले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। 

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सांगठनिक गतिविधिलाई अघि बढाउने क्रममा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो।

राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका पदाधिकारी तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए। 

यसैगरी बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको भट्टले बताए।

यस्तै, १३ वटा जिल्लामा अध्यक्ष पद रिक्त रहेकाले सम्बन्धित स्थानीय कमिटीले अध्यक्षका लागि सिफारिस गर्ने र माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णय बैठकले गरेको छ। 

त्यसपछि ती कमिटीले आयोजक समितिका रूपमा काम अघि बढाउनेछन्।

मधेश प्रदेशको रौतहटकी समानुपातिक सांसद जैनब खातुनको निधन भएपछि बन्दसूचीको क्रमअनुसार धनुषाकी नजमा खातुनलाई सांसदका रूपमा पठाउने निर्णयसमेत बैठकले गरेको भट्टले जानकारी दिए।

बैठकका क्रममा वरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई शपथ गराएका थिए।

स्थायी कमिटी बैठकमा बाँकी कार्यसूचीमाथि छलफल गर्न शुक्रबार दिउँसो १ बजे पुनः बैठक बस्ने उपमहासचिव भट्टले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७