क्यानडाका मदिरा, दुग्धजन्य र मोटरसाइकल आयातमा अमेरिकाले लगायो रोक
काठमाडौं : अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी प्रशासनले क्यानडाबाट आयात हुने करिब १ अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा नयाँ आयात प्रतिबन्ध लगाएको छ।
मादक पेय, दुग्धजन्य पदार्थ र मोटरसाइकललगायतका क्यानडाली उत्पादनमा प्रतिबन्ध लगाएको हो। मंगलबारदेखि लागू भएको नयाँ व्यवस्थाले दुई देशबीच पहिल्यै तनावपूर्ण रहेको व्यापारिक सम्बन्धमा थप जटिलता ल्याएको छ।
यद्यपि, दुई देशबीच हुने कुल व्यापारको तुलनामा प्रतिबन्धित वस्तुको हिस्सा भने निकै सानो रहेको बताइएको छ। अमेरिका र क्यानडाबीच वार्षिक करिब ८८० अर्ब अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार हुँदै आएको छ।
व्यापारसम्बन्धी अधिवक्ता प्याट्रिक चाइल्ड्रेसले नयाँ आयात प्रतिबन्धले अमेरिका–क्यानडा व्यापारिक तनाव समाधान गर्न सहयोग पुग्ने सम्भावना कम रहेको बताएका छन्।
अमेरिका र क्यानडाबीचको पछिल्लो व्यापार विवाद गर्मीयामदेखि थप चर्किएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २० अर्ब अमेरिकी डलर मूल्यका क्यानडाली सामानमा ५० प्रतिशत शुल्क लगाएका थिए।
ट्रम्पले क्यानडाले अमेरिकी दुग्ध, मोटर तथा मादक पेय पदार्थ उत्पादकप्रति विभेद गरेको आरोप लगाउँदै आएका छन्। त्यसको प्रतिक्रियामा क्यानडाले पनि अमेरिकी सामानमा १५, २५ र ५० प्रतिशतसम्मका प्रतिशोधात्मक शुल्क लगाएको थियो।
अमेरिकी शुल्कको जवाफमा क्यानडाले उठाएका कदमपछि ट्रम्प प्रशासनले क्यानडाली उत्पादनको सूची तयार गरी केही वस्तुको आयातमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सन् २०२५ को तथ्यांकका आधारमा नयाँ प्रतिबन्धले करिब ९६ करोड ७० लाख अमेरिकी डलर मूल्य बराबरका क्यानडाली आयातलाई समेट्ने व्यापार नीति निर्देशक ज्याकब जेन्सेनले बताएका छन्। उनका अनुसार प्रतिबन्धित वस्तुको करिब ८७ प्रतिशत हिस्सा मादक पेयको रहेको छ।
व्यापार विवादका क्रममा क्यानडाका केही प्रान्तले अमेरिकी मदिरालाई पसलका तखताबाट हटाएको घटनालाई अमेरिकी प्रशासनले मदिरामाथि कडाइ गर्नुको एउटा कारणका रूपमा हेरिएको छ।
केही दुग्धजन्य पदार्थमा समेत प्रतिबन्ध लगाइएको छ। यसमा दूधबाट बन्ने उपउत्पादन ‘व्हे’ पनि समावेश छ।
क्यानडाको दुग्ध उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट संरक्षण गर्ने नीतिलाई लिएर अमेरिका र क्यानडाबीच लामो समयदेखि विवाद रहँदै आएको छ।
क्यानडाले निश्चित परिमाणभन्दा बढी दुग्धजन्य पदार्थ आयातमा उच्च शुल्क लगाउँदै आफ्नो दुग्ध उद्योगलाई संरक्षण गर्दै आएको छ।
राष्ट्रपति ट्रम्पले क्यानडा अन्ततः अमेरिकी दबाबमा आउने विश्वास व्यक्त गर्दै आएका छन्। सोमबार पत्रकारहरूसँग उनले क्यानडाले अमेरिका आएर आफ्नो गल्ती स्वीकार गरे निष्पक्ष व्यापारिक सम्झौता गर्न सकिने बताएका थिए।
तर मंगलबार ट्रम्पको भनाइबारे प्रतिक्रिया दिँदै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले त्यस विषयमा प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरे। उनले भने क्यानडा वार्ताका लागि तयार रहेको बताएका छन्।
कार्नीले दुवै देशको सार्वभौमिकताको सम्मान गर्दै पारस्परिक रूपमा लाभदायक व्यापारिक व्यवस्था निर्माण गर्न क्यानडा सद्भावनापूर्वक वार्ताका लागि तयार रहेको बताएका छन्। अमेरिकी शुल्क तथा आयात प्रतिबन्धको प्रतिक्रियामा क्यानडाले थप कदम चाल्न सक्ने सम्भावनालाई पनि उनले अस्वीकार गरेका छैनन्।
क्यानडाको प्रतिक्रिया अमेरिकी राजनीतिक समयतालिकाका आधारमा तय नहुने उनको भनाइ छ। ऊर्जा, खाद्य, सूचना तथा वित्तीय सुरक्षालगायत क्षेत्रमा विश्वसनीय साझेदारीमार्फत दुवै देशलाई लाभ पुग्न सक्ने कार्नीले बताएका छन्।
अमेरिका–क्यानडा व्यापार विवाद तत्काल समाधान हुने सम्भावना कम रहेको अधिवक्ता चाइल्ड्रेसले बताएका छन्। हाल लागू गरिएका शुल्क तथा आयात प्रतिबन्धले कुनै पनि पक्षलाई वार्ताको टेबलमा फर्कन पर्याप्त आर्थिक दबाब सिर्जना नगर्ने उनको विश्लेषण छ।
त्यसकारण दुई देशबीचको व्यापारिक गतिरोध केही हप्तामै समाधान नभई महिनौँसम्म लम्बिन सक्ने सम्भावना रहेको उनले बताएका छन्।
.gif)

.png)


