दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध
काठमाडौं : दक्षिण अफ्रिकाका अनुभवी क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन्।
कर्णाली याक्सले शुक्रबार मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका मिलरको आगमनसँगै कर्णाली याक्सले टोलीमा थप अनुभवी खेलाडी भित्र्याएको छ।
मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। त्यसयता उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन्। अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको नाममा दुई हजार ८०४ रन छ।
आक्रामक ब्याटिङका लागि परिचित मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए।
उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका छन्। विश्वका विभिन्न टी–२० लिगमा खेलेको अनुभव पनि उनीसँग छ।
मिलर सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्य थिए। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
कर्णाली याक्सले तेस्रो संस्करणका लागि यसअघि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ।
मिलरसहित विदेशी खेलाडीको आगमनले प्रतियोगिताका लागि कर्णालीको टोली निर्माणलाई थप चासोपूर्ण बनाएको छ।
एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँको त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ।
.gif)

.png)



