कीर्ते कागजात बनाएर जग्गा बिक्री गर्ने मालपोत अधिकृतसहित १९ जनाविरुद्ध मुद्दा


२०८३ कार्तिक ७ शुक्रबार १३:३९ बजे
फाइल फोटो

काठमाडौं : अमेरिकामा बसोबास गर्दै आएका एक व्यक्तिको नागरिकता विवरण दुरुपयोग गरी नक्कली पहिचान र सरकारी कागजात तयार पारेर काठमाडौँको जग्गा बिक्री गरेको आरोपमा १९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानपछि सरकारी कर्मचारी, बिचौलिया र अन्य व्यक्तिसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। 

मुद्दा चलाइएकामध्ये चार जना फरार छन् भने काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर हाजिर जमानीमा छुटेको सिआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए।

अनुसन्धानअनुसार अमेरिकामा बस्दै आएका सुमित अग्रवाल (अडुकिया) को काठमाडौँको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली कागजातका आधारमा बिक्री गरिएको थियो। 

वास्तविक जग्गाधनीको नागरिकता विवरण प्रयोग गरेर अर्कै व्यक्तिको नक्कली पहिचान बनाइएको र त्यसैका आधारमा राष्ट्रिय परिचयपत्र, स्थायी लेखा नम्बर (पान) तथा बैंक खाता खोलिएको पाइएको छ।

२०८२ पुस ७ गते नक्कली विवरणका आधारमा राष्ट्रिय परिचयपत्र नम्बरका लागि आवेदन दर्ता गरिएको थियो। 

त्यसपछि २०८२ माघ १५ गते आन्तरिक राजस्व विभागबाट पान नम्बर लिइएको र ज्योति विकास बैंकमा खाता खोलिएको अनुसन्धानबाट खुलेको सिआईबीले जनाएको छ।

नक्कली नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा काठमाडौँ महानगरपालिका–१३ को वडा कार्यालयबाट जग्गाको श्रेस्ता अद्यावधिक तथा घरबाटो प्रमाणितसम्बन्धी सिफारिससमेत तयार पारिएको थियो। 

सरकारी निकायका कर्मचारीदेखि मालपोत कार्यालय र लेखापढी व्यवसायमा संलग्न व्यक्तिसम्मको भूमिका रहेको आरोपमा अनुसन्धान गरिएको हो।

नक्कली भाइ बनेर जग्गा बिक्री

प्रहरीका अनुसार जग्गाधनी सुमित अग्रवालको काठमाडौँस्थित घरमा विश्वासपात्रका रूपमा बस्दै आएका राजन सिङ्घानियाले आफूलाई सुमितका भाइ अमित अग्रवालका रूपमा प्रस्तुत गरेका थिए। 

उनले सुमित अमेरिकाबाट भारत आइसकेको भन्दै नक्कली व्यक्तिसँग फोन सम्पर्क गराएर जग्गा खरिद गर्न चाहनेलाई विश्वासमा पारेका थिए।

राजनले बिचौलिया मुस्ताफा आलम, वकिल चौधरी थारु र मीनकुमार रोकामार्फत दीपककुमार अग्रवाललाई जग्गा देखाएका थिए।

त्यसपछि २०८२ माघ २७ गते भूमि प्रशासन कार्यालय कलंकीबाट अम्बे भवानी कानुनी तथा लेखापढी सेवा केन्द्रका सञ्चालक राजाराम थापामार्फत कीर्ते लिखत तयार गरी जग्गा दीपककुमारको नाममा राजीनामा पास गराइएको आरोप छ।

उक्त कारोबारमा तीन प्रतिशत कमिसनका रूपमा २६ लाख ८० हजार रुपैयाँ तय भएको र बिचौलियाहरूले रकम बाँडफाँट गरेको अनुसन्धानमा उल्लेख छ।

यस प्रकरणमा जग्गा खरिद गर्ने दीपककुमार अग्रवाल नै जाहेरवाला हुन्।

वास्तविक धनीका साथीले किन्न खोजेपछि खुल्यो रहस्य

नक्कली कागजातका आधारमा जग्गा खरिद गरेका दीपककुमारले त्यसलाई नाफा लिएर बिक्री गर्ने योजना बनाएका थिए। त्यसका लागि उनले दोस्रो खरिदकर्ता खोज्न थाले।

संयोगवश जग्गा किन्न इच्छुक व्यक्ति वास्तविक जग्गाधनी सुमित अग्रवालका साथी परे।

जग्गा खरिद गर्नुअघि उनले सुमितसँग सम्पर्क गरेर सोधपुछ गरेपछि मात्रै जग्गा कीर्ते गरेर बिक्री गरिएको रहस्य खुलेको थियो। त्यसपछि पहिलो खरिदकर्ता दीपककुमारले समेत आफू ठगीमा परेको थाहा पाएका थिए।

सरकारी कर्मचारीसहित १९ जना प्रतिवादी

यस प्रकरणमा मुख्य योजनाकार भनिएका राजन सिङ्घानिया फरार रहेको प्रहरीले जनाएको छ।

बिचौलियाहरू मुस्ताफा आलम, वकिल चौधरी थारु र जमनकुमार रोका तथा लेखापढी व्यवसायी राजाराम थापासहित विभिन्न व्यक्ति पक्राउ परेको विवरणमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी पदकबहादुर थापा, राधिका ढुङ्गेल र रामराज पोखरेलमाथि नक्कली राष्ट्रिय परिचयपत्र दर्ता तथा रुजुसम्बन्धी काममा संलग्न रहेको आरोप छ।

त्यस्तै, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित वडा कार्यालयका कर्मचारी सन्तबहादुर मानन्धर र सुमनकुमार झा पनि प्रतिवादी बनाइएका छन्। 

भूमि प्रशासन तथा मालपोत कार्यालय कलंकीका टीकाबहादुर कुँवर क्षेत्री, रोशन केसी, पूजा लामिछाने र ईश्वरबन्धु गौतमसहितका कर्मचारीमाथि पनि विभिन्न प्रक्रियामा संलग्न रहेको आरोप लगाइएको छ।

यसैगरी चूडामणि पराजुली, रुद्रबहादुर वली र दीपकराज देवकोटा फरार रहेको विवरणमा उल्लेख छ।

प्रहरीले सरकारी अभिलेख तथा जग्गा प्रशासन प्रक्रियाको दुरुपयोग गरेर गरिएको कारोबारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७