‘कबड्डी ५’को आक्रामक सुरुवात, पहिलो दिनै दर्शकको उत्साह
काठमाडौं : नेपाली चलचित्रको चर्चित फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृंखला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।
प्रदर्शनअघि नै दर्शकको उत्साह देखिएको चलचित्रले अग्रिम बुकिङमा राम्रो प्रतिक्रिया पाएको छ। चलचित्रले देशभरका हलमा ठूलो संख्यामा शो पाएको छ।
निर्माण पक्षका कलाकारहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विवरणअनुसार प्रदर्शनको अघिल्लो दिन नै ६० भन्दा बढी शो हाउसफुल भएका छन्।
कतिपय शोका टिकट अग्रिम बुकिङमै बिक्री भएपछि चलचित्रको सुरुवाती व्यापारलाई लिएर अपेक्षा बढेको छ।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखलाले बक्सअफिसमा सफलता हासिल गरेका थिए। यही लोकप्रियताका कारण पाँचौँ शृंखलाप्रति पनि दर्शकको चासो देखिएको हो।
अग्रिम बुकिङको अवस्थाले चलचित्रले पहिलो दिन राम्रो व्यापार गर्न सक्ने संकेत गरेको छ। यद्यपि, यसको वास्तविक कमाइ भने प्रदर्शनपछि सार्वजनिक हुने विवरणबाट स्पष्ट हुनेछ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।
चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङको लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रको कथा पनि रामबाबु गुरुङले नै लेखेका हुन्।
सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ।
.gif)

.png)



