उपसभामुखको आसनमा बस्दा चलचित्रको जज जस्तै लाग्यो: रुबीकुमारी ठाकुर

भर्खरै राजनीति सिक्दै गरेकी उपसभामुख रुबीकुमारी ठाकुरको एक महिने समीक्षा


२०८३ जेठ २ शनिबार ११:०० बजे

काठमाडौँः श्रम-संस्कृति पार्टीको तर्फबाट सङ्घीय संसद्को उपसभामुख पदमा चुनिएकी रुबीकुमारी ठाकुरको कार्यकाल एक महिना पूरा भएको छ। मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक नवोदित युवा मुलुकको उच्च ओहोदामा पुग्दा सुरुवाती दिनमा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया देखिएको थियो।

कुनै ठोस राजनीतिक पृष्ठभूमि नभए पनि हर्क साम्पाङले उनलाई पार्टीको बन्दसूचीमा मधेशी महिला कोटामा समेटेका थिए। त्यही जातीय र लैङ्गिक प्रतिनिधित्वको सन्तुलनका कारण उनी २७५ सदस्यीय प्रतिनिधिसभाको सदस्य बनिन् र पछि विभिन्न दलहरूको समीकरणका कारण उपसभामुख बन्न सफल भइन्।

अहिले आफू संसद्को कार्यप्रणाली र कानुनी प्रक्रियाहरू सिक्ने चरणमै रहेको ठाकुरले स्वीकार गरेकी छन्। उनले भनिन्, 'म सँग कुनै पूर्वअनुभव वा ज्ञान थिएन, त्यसैले अहिले संसद्को नियमावली पढ्दै छु। सुरुमा कमजोरीहरू हुन सक्छन् तर मानिसले गल्तीबाटै सिक्ने हो।'

विगत दुई दिनमा उनले केही समयका लागि उपसभामुखको कुर्सी सम्हाल्ने र संसद्मा बोल्ने मौका पाएकी थिइन्। पहिलोपटक उक्त उच्च आसनमा बस्दाको अनुभूति सुनाउँदै उनले भनिन्, 'संसद्को बीचमा बस्दा एकदमै गर्व महसुस भयो। कुनै सिनेमामा देखाइने न्यायाधीश जस्तो अनुभव भयो मलाई। मलाई कत्ति पनि डर लागेन। के तपाईंहरुले मेरो अनुहारमा डर देख्नुभयो? म डराउँदिन।'

हिजो सभामुखको अनुपस्थितिमा अर्की सांसद गङ्गालक्ष्मी अवालले लामो समय बैठक चलाएपछि सामाजिक सञ्जालमा उपसभामुखले नसकेका कारण अरूलाई जिम्मेवारी दिइएको भन्दै प्रचार गरियो, जसमा ठाकुरको ठूलो चित्तदुखाइ छ।

आफूविरुद्ध भ्रम फैलाएको भन्दै मिडियाप्रति आक्रोश पोख्दै उनले भनिन्, 'मैले बैठक चलाउन नसकेर अरूलाई जिम्मा दिएको भन्दै सञ्चारमाध्यममा नराम्रा कुरा आएका छन्। म किन सक्दिनँ र? अर्को दिन म आफैँ संसद् चलाउँछु, तपाईंहरु तस्बिर खिच्न आउनू।'

संसदीय अभ्यास अनुसार सभामुख नहुँदा उपसभामुखले र दुवै नहुँदा तोकिएका सातजना सांसदहरूले पालैपालो बैठक सञ्चालन गर्ने व्यवस्था छ। सभामुख डीपी अर्यालले यसका लागि ७ जनाको टोली तोकिसकेका छन्। हिजो उपसभामुख संसद्मै उपलब्ध हुँदाहुँदै पनि अर्की सांसदले बैठक चलाएपछि सभामुखले ठाकुरलाई विश्वास नगरेको हो कि भन्ने आशङ्का उब्जिएको थियो।

यस विषयमा स्पष्ट पार्दै ठाकुरले भनिन्, 'हामी सातैजनालाई पालैपालो अवसर दिनुपर्ने नियम रहेछ। सभामुखज्यूले पनि सबैले सिक्ने मौका पाऊन् भनेर पालैपालो जिम्मेवारी दिने कुरा मलाई बताउनुभएको छ।'

उपसभामुख ठाकुरको सबैभन्दा ठूलो असन्तुष्टि सञ्चारमाध्यमहरूसँगै देखिन्छ, जसलाई उनी देश बिगार्ने मुख्य कारक मान्छिन्। उनले भनिन्, 'मिडियाले साना कुरालाई अनावश्यक रूपमा उछाल्ने र नराम्रा कुरा मात्र फैलाउने गर्छन्। देशको स्थिति खराब बनाउन मिडियाकै ठूलो हात छ जस्तो मलाई लाग्छ।'

आफ्नो भनाइको अन्त्यमा उनले आग्रह गर्दै भनिन्, 'तपाईंहरु मेरा बारे नकारात्मक कुरा मात्र नलेखिदिनु। राम्रा कुरा लेखिदिँदा मलाई हौसला मिल्छ। वर्षौँदेखि राजनीतिमा रहेकाहरूबाट त गल्ती हुन्छ भने म त भर्खर सिक्दै गरेकी एउटा विद्यार्थी मात्र हुँ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७