कांग्रेसको समेत समर्थन पाएकी उपसभामुख उम्मेदवार ठाकुरले भनिन् : म सक्छु, देशलाई सधैँ साथ दिन्छु
काठमाडौँ : प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबिकुमारी ठाकुरले आफूले जिम्मेवारी सम्हाल्न सक्ने बताएकी छन्।
बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशप्रति आफ्नो प्रतिबद्धता दोहोर्याइन्। उमेरका कारण जिम्मेवारी वहन गर्न सक्नेबारे उठेको प्रश्नमा उनले छोटो जवाफ दिँदै भनिन्, ‘म सक्छु ।’
पत्रकारले संवैधानिक पद भएकाले नीति, नियम र कानुन निर्माणसँग सम्बन्धित जिम्मेवारीबारे थप प्रश्न गर्दा उनले भनिन्, ‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु ।’
यसक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीले नयाँ इतिहास रच्न लागेको दाबी गरे। ‘नेपालको इतिहासमा पहिलो चोटि सबैभन्दा सानो उमेरको उपसभामुख बन्दै हुनुहुन्छ,’ उनले भने, ‘श्रम संस्कृति पार्टी नयाँ ढंगले काम गर्न आएको हो, हामी नयाँ ढंगले काम गर्न चाहन्छौं ।’
उनले पार्टीमा अन्य विकल्प नभएकाले मात्रै होइन, योजनाबद्ध निर्णयका रूपमा ठाकुरलाई अघि सारिएको स्पष्ट पारे। ‘हाम्रो पार्टीमा अरु उम्मेदवार नभएको होइन, ऐतिहासिक हो, हाम्रो निर्णय हो,’ उनले भने ।
उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले समर्थन गर्ने जनाएका छन्।
.gif)

.png)

