उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न
काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपसभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निर्वाचित भएपछि तटस्थ भूमिका निर्वाह गर्नु सभामुख र उपसभामुख दुवैको संवैधानिक दायित्व भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सभामुख र उपसभामुखले पदीय जिम्मेवारी निर्वाह गर्दा दलगत आग्रहभन्दा माथि उठ्नुपर्ने बताएका हुन्।
‘संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ,’ पोखरेलले लेखेका छन्, ‘सभामुखको भूमिकाका सन्दर्भमा प्रश्नहरू धेरै उठे। उहाँले सुधार गर्न खोजेको देखियो। तर, उपसभामुखको हकमा पनि समस्या देखिन्छ।’
श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटामा निर्वाचित उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष रहने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संविधान र संसदीय प्रणालीको मर्मविपरीत हुने पोखरेलको भनाइ छ।
‘पदीय मर्यादा र संविधानको भावनाअनुरूपको आचरणमा उपसभामुखको ध्यान अनुभवको कमीले हुनसक्छ, पुगेको देखिँदैन। यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ,’ पोखरेलले भनेका छन्।
उनले उपसभामुखलाई आफ्नो संवैधानिक भूमिका, पदीय मर्यादा र संसदीय प्रणालीको मूल्यमान्यताअनुसार तटस्थ र निष्पक्ष रूपमा प्रस्तुत हुन सुझाव दिएका छन्।
.gif)

.png)

