अघिल्लो संसद् पुनर्स्थापनाका लागि आन्दोलन गर्ने ओलीको प्रस्ताव, शंकर पोखरेलको प्रतिवाद

ओलीको प्रस्तावपछि बादलले भने, ‘हो, आन्दोलनमा जानुपर्छ’


२०८३ भदौ २३ मंगलबार १३:४४ बजे

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २३ भदौ २०८२ को जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित राजनीतिक आन्दोलनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्।

पार्टीभित्र नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला ओलीले आफू निकट नेताहरूसँगको अनौपचारिक बैठकमा संसद् पुनर्स्थापनालाई राजनीतिक एजेन्डा बनाएर आन्दोलनको तयारी गर्नुपर्ने धारणा राखेका हुन्।

भदौ १५ गते च्यासलमा राजधानी प्रदेश कमिटी र बागमती प्रदेश कमिटीले बाढीपीडितका लागि जनही १० लाख रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेपछि बसेको अनौपचारिक बैठकमा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा संसद् पुनर्स्थापना नै उपयुक्त विकल्प भएको धारणा राखेका थिए। त्यसका लागि पार्टी पंक्तिलाई तयार पार्नुपर्ने भन्दै उनले संसद् पुनर्स्थापनाको मागसहित राजनीतिक आन्दोलनको तयारी गर्न प्रस्ताव गरेका थिए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ओलीले संसद् पुनर्स्थापनाको विषयलाई पार्टीको राजनीतिक एजेन्डाका रूपमा अघि बढाउँदै त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताएका थिए। ती पदाधिकारीका अनुसार ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि यस विषयमा कुराकानी भएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत छलफल गर्ने बताएका थिए।

ओलीले बैठकमा ‘अहिलेको सन्दर्भमा उपयुक्त बाटो भनेकै संसद् पुनर्स्थापना हो। त्यसैले संसद् पुनर्स्थापनाका लागि आन्दोलन गर्न तयार रहौँ। पार्टी पंक्तिलाई यसकै निम्ति तयार बनाऔँ’ भनेको ती पदाधिकारीको दाबी छ।

अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव राखेपछि महासचिव शंकर पोखरेलले तत्कालै त्यसको प्रतिवाद गरेका थिए। निर्वाचन सम्पन्न भइसकेको र राजनीतिक परिस्थिति परिवर्तन भइसकेको अवस्थामा पुरानो संसद् पुनर्स्थापनाको मागसहित आन्दोलनमा जानु उपयुक्त नहुने पोखरेलको धारणा थियो।

पोखरेलले अहिले पार्टीको प्राथमिकता राजनीतिक आन्दोलन नभई संगठनको रूपान्तरण, पुनर्जागरण र पुनर्निर्माण हुनुपर्नेमा जोड दिएका थिए। बैठकमा उनले भनेका थिए, ‘समय धेरै अगाडि बढिसक्यो। चुनाव भइसकेर परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन। यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र सामयिक हुँदैन।’

नयाँ निर्वाचन सम्पन्न भई नयाँ प्रतिनिधिसभा गठन भइसकेको अवस्थामा अघिल्लो प्रतिनिधिसभा पुनर्स्थापनाको माग राजनीतिक, कानुनी र नैतिक दृष्टिले समेत उपयुक्त नहुने पोखरेलले बताएका थिए।

बैठकमा ओलीले अघि सारेको प्रस्तावलाई उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले समर्थन गरेको स्रोतले जनाएको छ। उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ भने बैठकमा मौन बसेका थिए। ओलीनिकट नेता विष्णु रिमालले पनि प्रस्तावका विषयमा स्पष्ट धारणा नराखेको बताइएको छ।  बैठकमा संसद् पुनर्स्थापनाको विषयलाई लिएर लामो विवाद नभए पनि नेताहरूबीच राजनीतिक प्राथमिकताका विषयमा मतभिन्नता देखिएको एमाले स्रोतले जनाएको छ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७