बाढीको त्रासले सौराहामा घटे पर्यटक
चितवन : बाढीपहिरोपछि मुख्य राजमार्गको अवरोध हटे पनि पुनः बाटो बन्द हुन सक्ने त्रास र प्राकृतिक विपत्तिले निम्त्याएको शोकका कारण यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल घटेको छ।
विगतका वर्षमा दसैँ बिदामा पर्यटकले भरिभराउ हुने सौराहाका होटलमा यसपालि अपेक्षाअनुसार बुकिङ हुन सकेको छैन। गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटकको आगमन प्रभावित भएको थियो।
त्यसअघि भने दसैँ बिदामा प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल हुने गरेको थियो।
यस वर्ष भोटेकोशी र बूढीगण्डकीमा आएको बाढी तथा त्यसले पुर्याएको जनधनको क्षतिपछि पर्यटकको घुमफिर गर्ने उत्साह कमजोर देखिएको व्यवसायीहरू बताउँछन्।
सौराहास्थित उनको होटल ल्यान्डमार्कमा बिहीबार ७५ कोठामध्ये सातवटा मात्रै बुक भएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए। उनका अनुसार सौराहा मात्र नभई पोखराजस्ता अन्य प्रमुख पर्यटकीय गन्तव्यमा पनि विगतको तुलनामा आन्तरिक पर्यटक कम छन्।
वर्षाका कारण फेरि सडक अवरुद्ध हुन सक्ने आशङ्काले पर्यटकले यात्रा गर्न हिचकिचाएको उनको अनुमान छ। बाढीपहिरोबाट भएको ठूलो क्षतिका कारण पनि यस वर्ष दसैँमा नेपालीहरूमा विगतको जस्तो उत्साह नदेखिएको उनले बताए।
यद्यपि, व्यवसायीहरूले आगामी दिनमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छन्। पाण्डेले भोटेकोशी बाढीपछि स्थगित भएका बुकिङ पुनः हुन थालेका छन् भने नयाँ बुकिङसमेत आउन थालेको छ।
होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि सौराहामा आन्तरिक पर्यटकको सङ्ख्या क्रमशः बढ्ने विश्वास व्यक्त गरे।
दसैँ बिदाका कारण शुक्रबार, शनिबार र आइतबार होटलहरू भरिने अपेक्षा रहेको उनले बताए। उनकाअनुसार पर्यटकको आगमन बढेमा त्यसको प्रभाव आगामी महिनाहरूमा पनि देखिन सक्छ।
होटल भिष्टाका सञ्चालक रमेश सिलवाल पनि दसैँसँगै आन्तरिक पर्यटक बढ्नेमा आशावादी छन्। उनका अनुसार दसैँको अवधिमा विदेशी पर्यटक भने सौराहा आएका छन्।
भारतीयसहित विभिन्न देशका पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेकाले आगामी दिनमा आगमन बढ्ने अपेक्षा गरिएको उनले बताए।
विदेशी पर्यटकले धाने होटल व्यवसाय
आन्तरिक पर्यटकको बुकिङ कमजोर भए पनि केही होटलमा विदेशी पर्यटकको उपस्थिति उत्साहजनक देखिएको छ।
सौराहास्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार पछिल्ला तीन दिन उनको होटल विदेशी पर्यटकले भरिएको थियो।
उनका अनुसार जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएका छन्।
भोटेकोशी बाढीका कारण स्थगित भएका केही भ्रमण पुनः सुरु हुन थालेको र नेपाल आएका विदेशी पर्यटक सौराहा पनि पुग्न थालेको उनले बताए।
बाढीका कारण यसअघि पर्यटकले बुकिङ रद्द गर्दा व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो। अहिले विदेशी पर्यटकको आगमनमा सुधार देखिन थाले पनि आन्तरिक पर्यटकको सङ्ख्या बढ्नु आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।
वन्यजन्तु र सफारी पर्यटनको प्रमुख गन्तव्य
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित सौराहा वन्यजन्तु अवलोकन र सफारी पर्यटनका लागि लोकप्रिय गन्तव्य हो। निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटकले प्रायः सौराहालाई आवासस्थल बनाउने गर्छन्।
यसका अतिरिक्त भरतपुरका पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा पनि पर्यटक बस्ने गरेका छन्। ती क्षेत्रबाट हात्ती सफारी, जिप सफारी, डुङ्गा यात्रा तथा पैदल भ्रमणमार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकन गर्न सकिन्छ। एकसिङ्गे गैँडा र पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गर्छन्।
वन्यजन्तु अवलोकनसँगै थारू संस्कृति र स्थानीय जीवनशैलीको अनुभव लिन पनि चितवनमा पर्यटक आउने गरेका छन्। त्यसैले आन्तरिक पर्यटकको आगमनमा हुने उतारचढावले सौराहासहित आसपासका पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
यस वर्ष दसैँको सुरुवातमा सुस्त देखिएको पर्यटक आगमन आगामी दिनमा बढ्ने व्यवसायीहरूको अपेक्षा छ। सडकको अवस्था सहज रहनु र बुकिङ पुनः बढ्नुले पर्यटन व्यवसायमा सुधार आउने आशा जगाएको उनीहरूको भनाइ छ।
.gif)

.png)



