सात देशका कन्टेन्ट क्रिएटरले विश्वमाझ चिनाउँदै नेपालका पर्यटकीय गन्तव्य
काठमाडौं : नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा आएका उनीहरूले पोखरा, चितवन र बर्दियाका पर्यटकीय गन्तव्यको भ्रमण गरी भिडियो तथा डिजिटल सामग्री तयार पार्नेछन् ।
फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र स्थानीय जीवनशैली अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले नेपाल बोलाइएको हो ।
उनीहरूमध्ये यूएई र ट्युनिसियाका तीन जना फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
उनीहरूलाई नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष सङ्गीता पौडेललगायतले स्वागत गरेका थिए ।
अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए ।
यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् ।
उनीहरूले त्यहाँका प्राकृतिक तथा सांस्कृतिक आकर्षण, स्थानीय जीवनशैली, पर्यटन व्यवसाय, खानपान, आतिथ्य सेवा र साहसिक गतिविधिलाई समेटेर सामग्री उत्पादन गर्नेछन् ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले तयार पारेका सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।
यसबाट नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भ्रमणमा सहभागी बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणमा केन्द्रित सामग्री बनाउनेछन् ।
त्यस्तै, फ्रान्सका जेरेमी ब्युडेटले चितवनको वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन् ।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘#LifetimeExperiences’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वभर पुर्याउने लक्ष्य राखेको छ ।
यस अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको बोर्डले जनाएको छ ।
यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना गरिएको थियो ।
कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवर्द्धनसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
बोर्डका अनुसार अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरको सहभागिताले नेपालका पर्यटकीय गन्तव्यलाई नयाँ दर्शकमाझ पुर्याउनुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेषगरी युवा पुस्तामाझ लोकप्रिय डिजिटल प्लेटफर्ममार्फत वास्तविक यात्रा अनुभव र दृश्य सार्वजनिक गर्दा नेपाल भ्रमण गर्न चाहने सम्भावित पर्यटकलाई गन्तव्यबारे जानकारी प्राप्त गर्न सहज हुने विश्वास बोर्डको छ ।
.gif)

.png)




