२१० किलो गाँजा लोड गर्दै गर्दा प्रहरीको छापा, भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर
काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट करिब २१० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् ।
दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियोमा जाँच गरिएको प्रहरीले जानकारी दिएको छ । त्यसक्रममा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा फेला परेको थियो ।
प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरेर पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह तथा सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन् ।
त्यस्तै भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर पनि पक्राउ परेका छन् ।
यादव बा.१ च ५०३८ र शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
.gif)

.png)




