कोरला नाकाबाट भित्रियो ३ हजार ७२५ मेट्रिकटन फलफूल


२०८३ कार्तिक १७ मंगलबार ०८:५४ बजे
फाइल फोटो

काठमाडौं : रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने फलफूलको आयात कोरला नाकातर्फ केन्द्रित हुन थालेको छ । 

मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म ३ हजार ७२५ मेट्रिकटन फलफूल नेपाल भित्रिएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य वस्तु नेपाल भित्रिन थालेका हुन् । 

कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म चीनबाट ११ किसिमका फलफूल तथा खाद्यवस्तु आयात भएका छन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि भदौ १० गतेदेखि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ । त्यस्तै, सिन्धुपाल्चोकको तातोपानी नाका पनि लामो समयदेखि सञ्चालनमा छैन । यी दुई प्रमुख नाका बन्द भएपछि चीनबाट आयात हुने फलफूल कोरला नाकाबाट भित्रिन थालेका हुन् ।

क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो करिब दुई महिनामा कोरला नाकाबाट फलफूल आयातको परिमाण बढ्दै गएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यवसायीले चीनबाट फलफूल आयात गरिरहेका छन् ।

उनका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर र किसमिसलगायत फलफूल भित्रिएका छन् । त्यस्तै, फर्सीको बीउ, लसुन र फापरसमेत आयात भएको छ । चाडपर्वलाई लक्षित गरी सबैभन्दा बढी बोक्रे ओखर र स्याउ आयात भएको घर्तीमगरले बताइन् ।

यसअघि रसुवागढी नाकाबाट आयात हुने फलफूलको मार्ग परिवर्तन गरी कोरला नाकाबाट ल्याउन थालिए पनि ढुवानीमा समस्या देखिएको थियो ।

गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी अवरुद्ध हुँदा आयातित फलफूल गन्तव्यसम्म पुर्‍याउन कठिन भएको थियो ।

क्वारेन्टाइन परीक्षण र भन्सार जाँचपास सम्पन्न भइसकेका फलफूलसमेत सडक अवरुद्ध हुँदा रोकिएका थिए । यसक्रममा व्यवसायीले आयात गरेको एक कन्टेनर ड्रागन फ्रुट बिग्रन थालेपछि मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७