चीनले नेपाललाई दियो दुई बेलीब्रिज, आजै कोरला नाकाबाट भित्रिँदै

नेपालले माग गरेका बाँकी बेलीब्रिजहरू पनि चीनले क्रमशः उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।


२०८३ भदौ १९ शुक्रबार १२:०४ बजे
नेपालका लागि ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङ

काठमाडौं :  चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा तत्काल जडान गर्ने गरी १०० मिटर लम्बाइका दुईवटा बेलीब्रिजका आवश्यक सामग्री हस्तान्तरण गरेको छ। भदौ १० गतेको भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि चीन सरकारले शुक्रबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई ती सामग्री हस्तान्तरण गरेको हो।

नेपालले चीनको सिजाङ  स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँग बाढी प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेलीब्रिज उपलब्ध गराउन आग्रह गरेको थियो। सोही आग्रहअनुसार पहिलो चरणमा दुईवटा बेलीब्रिजका सामग्री प्राप्त भएका हुन्।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा शुक्रबार आयोजित विशेष समारोहमा हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा नेपालका लागि ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङले हस्ताक्षर गरी एक–आपसमा आदानप्रदान गरेका छन्।

कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्य दूतावास तथा तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका कूटनीतिक तथा सरकारी अधिकारीहरूको उपस्थिति थियो। हस्तान्तरण गरिएका बेलीब्रिजका सामग्रीहरू उपल्लो मुस्ताङस्थित कोरला (लिजी) सीमा नाकामा शुक्रबारै पुगिसकेका छन्। नेपाली पक्षले ती सामग्री आजै बुझिलिने महावाणिज्य दूतावासले जनाएको छ।

पुलको शीघ्र र प्रभावकारी जडान सुनिश्चित गर्न चीनले आवश्यक प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिक टोली छिट्टै नेपाल आइपुग्ने बताइएको छ।

प्राप्त सामग्रीमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिम, च्यानल स्टिल तथा पाइप वेल्डिङका सामग्री रहेका छन्। नेपालले माग गरेका बाँकी बेलीब्रिजहरू पनि चीनले क्रमशः उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७