चीनतर्फका सबै नाका बन्द : तातोपानी नाका खोल्न सरकारको पहल
काठमाडौं : चीनसँग व्यापारिक कारोबार हुने तीनवटै प्रमुख नाका बन्द भएपछि नेपाल–चीन आयात–निर्यात प्रभावित भएको छ।
रसुवागढी, तातोपानी र कोरला नाका बन्द हुँदा चीनबाट नेपाल भित्रिने सामानको आपूर्ति प्रभावित भएको हो। दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय तथा सजावटका सामग्रीको आयातमा समेत समस्या देखिएको व्यवसायीहरूले बताएका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द भएको थियो। त्यसको दुई दिनपछि भदौ १२ गतेदेखि तातोपानी नाका पनि बन्द भएको जानकारी चिनियाँ पक्षले नेपाल सरकारलाई गराएको थियो।
त्यसपछि असोज १२ गते कालीगण्डकी नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि कोरला नाकाबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनसमेत रोकिएका छन्।
तीनवटै नाका बन्द भएपछि सरकारले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल अघि बढाएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा चिनियाँ दूतावासका प्रतिनिधिसहितको टोलीले अरनिको राजमार्गको स्थलगत अनुगमनसमेत गरेको छ।
अनुगमनका क्रममा सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले तातोपानीदेखि काठमाडौं जोड्ने अरनिको राजमार्गमा ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन गर्न समस्या नरहेको बताएको छ।
बाह्रबिसेदेखि कोदारीसम्मका विभिन्न खण्डमा पहिरो व्यवस्थापनको काम भइरहेको सडक डिभिजनले जनाएको छ।
वर्षाका कारण कुनै स्थानमा सडक अवरुद्ध भए तत्काल यातायात सञ्चालन गर्न आवश्यक मेसिन तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको पनि डिभिजनको भनाइ छ।
सहसचिव खड्का नेतृत्वको टोलीको अनुगमनपछि तयार हुने प्रतिवेदनका आधारमा चीन सरकारसँग थप कूटनीतिक पहल गर्ने तयारीमा नेपाल सरकार छ।
दसैँअघि नै तातोपानी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी छ।
.gif)

.png)


