काठमाडौं जोड्ने नाकासहित ३५ सडक अवरुद्ध
काठमाडौं : अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशभरको यातायात सेवा प्रभावित भएको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार आइतबार बिहान १० बजेसम्म चार प्रदेशका ३५ स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सबैभन्दा बढी सडक बागमती प्रदेशमा अवरुद्ध भएका छन्। बागमतीका १९ स्थान, गण्डकीका १३, कर्णालीका दुई र लुम्बिनीको एक स्थानमा यातायात ठप्प रहेको जनाएको छ।
बागमती प्रदेशमा काठमाडौं उपत्यका जोड्ने प्रमुख सडकहरू नै प्रभावित भएका छन्। रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्म पासाङल्हामु राजमार्ग तथा त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी र मैलुङ–स्याफ्रुबेंसी सडक बाढीका कारण अवरुद्ध छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङका कृष्णभिर, परेवाभिर र टिडराडखानीमा पहिरो गएको छ। चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिएपछि आवागमन रोकिएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान र पहिरोका कारण यातायात बन्द छ। सिन्धुलीको सुनकोशी–१ बालुवामा बाढीका कारण राजमार्ग अवरुद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–८ जिपलाइन नजिक पनि पहिरो गएको छ।
कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती–३ मा पहिरो तथा गोदावरी–६ मा रुख ढलेर सडक अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी–८ मा लेदो खसेको तथा इन्द्रसरोवर–२ मा पहिरो गएपछि कुलेखानी–सिस्नेरी सडक बन्द भएको छ। रामेछापको मन्थली–६ हातितारमा पहिरो जाँदा मन्थली–खुर्कोट सडकसमेत प्रभावित भएको छ।
गण्डकी प्रदेशमा पृथ्वी राजमार्गका तनहुँका विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध छ। लमजुङको खरखरे भिर, मनाङको खोत्रो र मर्स्याङ्दी–४ रामबजारमा सडकमा क्षति पुगेपछि बेंसीसहर–मनाङ सडक बन्द भएको छ।
म्याग्दीको बैसरी र सुकेबगरमा पहिरो जाँदा बेनी–जोमसोम सडक तथा मुस्ताङको सेल्फीडाँडामा पहिरो जाँदा जोमसोम–कोरला सडक अवरुद्ध भएको छ। पर्वतको कुश्मा–६ तमादी खोलामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। जलजला क्षेत्रमा रुख तथा पहिरोका कारण पोखरा–बेनी–बागलुङ र मालढुंगा–बेनी सडकसमेत अवरुद्ध छन्।
लुम्बिनी प्रदेशमा गुल्मी र पाल्पाको सीमावर्ती क्षेत्रमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। कर्णालीमा कालिकोटको शुभकालिका–१ मा पहिरोका कारण कर्णाली राजमार्ग तथा सल्यानको कपुरकोट–५ खारखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउन सडक विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएकोजनाएको छ। तर, कतिपय स्थानमा निरन्तर वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ।
विपद् प्रतिकार्य शाखाले जोखिम कायमै रहेकाले अति आवश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित प्रहरी कार्यालय वा कन्ट्रोल रुमबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्नसमेत आग्रह गरिएको छ।
.jpg)
.jpg)
.gif)

.png)


