कांग्रेसमा ३५ वर्षमुनिका २१ युवा केन्द्रीय सदस्य

कांग्रेसमा ठूलो सांगठनिक फेरबदल, युवादेखि विज्ञसम्मलाई ठाउँ


२०८३ असोज १२ सोमबार ००:०४ बजे

काठमाडौं :नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ । विधान संशोधनमार्फत कांग्रेसले युवादेखि पेसागत विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, प्रजातन्त्रका सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितसम्मलाई पार्टीका विभिन्न तहमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रदेश कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा पनि ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । वडा हुँदै जिल्ला कार्यसमितिसम्म भने ३० वर्षमुनिका युवालाई प्रतिनिधित्व गराइनेछ ।

नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार १ सय ६४ बाट बढेर २ सय ३८ सदस्यीय हुनेछ । पदाधिकारीको संख्या पनि १४ बाट बढाएर १७ पुर्‍याइएको छ ।

सभापतिसहित १३ पदाधिकारी र १ सय ५६ सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् । सभापतिले थप तीन सहमहामन्त्री मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । मनोनीत हुने तीन सहमहामन्त्रीमध्ये एक महिला अनिवार्य हुनुपर्नेछ ।

आठ क्लस्टरबाट एक–एक सहमहामन्त्री निर्वाचित हुने पुरानै व्यवस्था कायम राखिएको छ । सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या भने ४१ बाट बढाएर ६१ पुर्‍याइएको छ ।

पार्टी संरचनामा विज्ञदेखि श्रमिकसम्म

नयाँ विधानले पार्टी संगठनबाहिर रहेका विभिन्न समूहलाई समेत कांग्रेसको संरचनामा प्रवेश गर्ने बाटो खोलेको छ । प्रदेश प्रतिनिधिदेखि क्षेत्रीय प्रतिनिधिसम्म पेसागत विषय विज्ञ, प्रजातन्त्रका सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडित, अल्पसंख्यक, श्रमिक र अपांगता भएका व्यक्तिका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

प्रत्येक वडाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमध्ये कम्तीमा एक जना पेसागत विषय विज्ञ हुनुपर्ने व्यवस्था गरिएको छ । यसबाट ६ हजार ७ सय ४३ जना पेसागत विषय विज्ञ क्षेत्रीय प्रतिनिधिका रूपमा पार्टी संरचनामा आउनेछन् ।

प्रजातन्त्रका सेनानीका लागि प्रत्येक वडाबाट दुई जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसअनुसार १३ हजार ४ सय ८६ जना प्रतिनिधित्व गर्नेछन् । श्रमिक र अपांगता भएका व्यक्तिबाट पनि एक–एक जनाको प्रतिनिधित्व हुने व्यवस्था छ ।

प्रदेश प्रतिनिधिमा पेसागत विषय विज्ञ, प्रजातन्त्रका सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडित, अल्पसंख्यक, श्रमिक र अपांगता भएका व्यक्तिबाट ३ सय ३० जनाका दरले प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । यसमा पेसागत विशेष विज्ञ, श्रमिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा प्रजातन्त्रका सेनानी, सहिद परिवार र द्वन्द्वपीडितबाट एक–एक जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन युवा महाधिवेशन प्रतिनिधि अनिवार्य हुनेछन् । यसरी १ सय ६५ निर्वाचन क्षेत्रबाट ४ सय ९५ युवा महाधिवेशन प्रतिनिधि बन्नेछन् । तीमध्ये १ सय ६५ जना महिला हुने व्यवस्था छ ।

विदेशस्थित जनसम्पर्क समितिबाट पहिलोपटक केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । ३४ देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिबाट एक महिलासहित छ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था गरिएको छ । अल्पसंख्यक र अपांगता भएका व्यक्तिबाट एक–एक तथा पेसागत विज्ञ र श्रमिकबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

वडा कार्यसमितिदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म कम्तीमा ३४ हजार २ सय १४ युवा विभिन्न तहमा प्रतिनिधित्व गर्ने व्यवस्था विधानबाटै सुरक्षित गरिएको छ । खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने युवाको संख्या भने योभन्दा बढी हुन सक्ने कांग्रेसले जनाएको छ ।

जिल्ला कार्यसमितिमा तीन जना युवा रहने व्यवस्था गरिएको छ । साथै प्रत्येक जिल्ला कार्यसमितिमा एक जना अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसबाट ७७ जिल्लामा ७७ जना अपांगता भएका व्यक्तिले जिल्ला तहमा प्रतिनिधित्व गर्नेछन् ।

प्रदेश कार्यसमितिमा सात–सात जना युवा रहने व्यवस्था गरिएको छ । प्रदेश तहमा अपांगता भएका व्यक्ति र अल्पसंख्यकबाट एक–एक जनाको प्रतिनिधित्व पनि सुनिश्चित गरिएको छ ।

प्रदेश र केन्द्रीय तहमा युवाको उमेर सीमा ३० बाट बढाएर ३५ वर्षमुनि कायम गरिएको छ । प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १४ तथा खुलातर्फ सात जना गरी २१ युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन् । यसबाहेक खुला प्रतिस्पर्धाबाट थप युवा पनि केन्द्रीय तहमा आउन सक्ने व्यवस्था गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७