जब पुरुषको पेटभित्र महिलाको पाठेघर भेटियो
भारत : भारतमा निःसन्तानपनको कारण खोज्दै जाँदा २६ वर्षीय पुरुषको शरीरभित्र पाठेघर र डिम्बबाहिनी नली भेटिएको दुर्लभ घटना सार्वजनिक भएको छ।
दिल्लीको राजौरी गार्डेनस्थित आरजी अस्पतालमा जाँचका लागि पुगेका ती पुरुषको पेटभित्र महिलाको प्रजनन प्रणालीमा विकसित हुने अंगहरू रहेको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनका दुवै अण्डकोषसमेत सामान्य स्थानमा नभएको चिकित्सकहरूले भेटाएका थिए।
विवाह भएको करिब दुई वर्षसम्म पनि सन्तान नभएपछि ती पुरुष श्रीमतीसहित अस्पताल पुगेका थिए। सुरुमा श्रीमतीको स्वास्थ्य परीक्षण गर्दा उनको प्रजनन क्षमतामा कुनै समस्या देखिएन। त्यसपछि चिकित्सकहरूले श्रीमान्को जाँच गरेका थिए।
जाँचका क्रममा उनको शरीरमा पुरुषका सामान्य यौन विशेषता भए पनि दुवै अण्डकोष सामान्य स्थानमा नभएको पाइयो। वीर्य परीक्षण गर्दा ‘एजोस्पर्मिया’ अर्थात् वीर्यमा शुक्रकीट नदेखिने अवस्था फेला पर्यो।
हर्मोन परीक्षणमा टेस्टोस्टेरोनको मात्रा सामान्य थियो। तर फोलिक्युल स्टिमुलेटिङ हर्मोन र लुटिनाइजिङ हर्मोनको मात्रा भने केही बढी पाइएको चिकित्सकहरूले बताएका छन्।
त्यसपछि गरिएको अल्ट्रासाउन्डमा तल्लो पेटमा असामान्य संरचना देखियो। थप अध्ययनका लागि एमआरआई गर्दा चिकित्सकहरू झन् अचम्ममा परे। एमआरआईमा पेटभित्र पूर्ण रूपमा विकसित पाठेघर र डिम्बबाहिनी नलीजस्ता संरचना रहेको पुष्टि भयो।
तर क्रोमोजोम परीक्षणमा उनको ढाँचा ‘४६, एक्सवाई’ रहेको पाइयो। अर्थात् उनी आनुवंशिक रूपमा पुरुष थिए।
चिकित्सकहरूले उनको अवस्थालाई ‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ अर्थात् पुरुष शरीरमा महिलाको प्रजनन प्रणालीका केही संरचना रहने दुर्लभ जन्मजात अवस्थाका रूपमा पहिचान गरेका थिए।
चिकित्सकीय परीक्षणका क्रममा उनका दुवै अण्डकोष पेटभित्रै रहेको र सानो तथा अविकसित अवस्थामा रहेको पाइएको थियो।
अण्डकोष सामान्य स्थानमा नझर्नु र शरीरभित्र अन्य असामान्य प्रजनन संरचना रहनुले भविष्यमा ट्युमर तथा क्यान्सरको जोखिम बढाउन सक्ने चिकित्सकहरूले बताएका थिए।
त्यसपछि उनको जटिल शल्यक्रिया गरिएको थियो। शल्यक्रियामार्फत असामान्य संरचनाहरू हटाइएपछि ती तन्तुको प्रयोगशाला परीक्षण गरिएको थियो।
परीक्षणमा एउटा अण्डकोषमा क्यान्सरपूर्वको अवस्था देखिएको चिकित्सकहरूले बताएका छन्। समयमै समस्या पहिचान भएकाले भविष्यमा हुन सक्ने क्यान्सरको जोखिमबाट बच्न उपचार गर्न सम्भव भएको उनीहरूको भनाइ छ।
के हो ‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ ?
आरजी अस्पतालका युरोलोजिस्ट तथा बाँझोपन विशेषज्ञ डा. सुशिल खरबन्दाका अनुसार ‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ जन्मजात रूपमा देखिने अत्यन्त दुर्लभ अवस्था हो।
सामान्य अवस्थामा पुरुष भ्रूणको विकासका क्रममा ‘एन्टि–मुलेरियन हर्मोन’ले मुलेरियन संरचनालाई विकास हुनबाट रोक्छ। यही संरचनाबाट महिलामा पछि पाठेघर र डिम्बबाहिनी नलीजस्ता प्रजनन अंग विकसित हुन्छन्।
तर एन्टि–मुलेरियन हर्मोन पर्याप्त नबन्ने वा त्यसका रिसेप्टरले काम नगर्ने अवस्था भएमा ‘एक्सवाई’ क्रोमोजोम भएका पुरुषमा पनि यी संरचना विकास हुन सक्छन्। चिकित्सा अभिलेखमा यस्तो अवस्थाका ३०० भन्दा कम घटना मात्रै रिपोर्ट भएको चिकित्सले बताएका छन्।
बाल्यकालमै अण्डकोषको जाँच आवश्यक
डा. खरबन्दाले अण्डकोष सामान्य स्थानमा झरेको छ कि छैन भन्ने कुरा बाल्यकालमै यकिन गर्नुपर्ने बताएका छन्। अण्डकोष सामान्य स्थानमा नभेटिएमा अभिभावकले प्रारम्भिक अवस्थामै चिकित्सक तथा विशेषज्ञसँग परामर्श लिनुपर्ने उनको सुझाव छ।
निःसन्तानपनको समस्या देखिँदा महिलाको मात्रै नभई पुरुषको समेत स्वास्थ्य परीक्षण आवश्यक हुने उनले बताए। निःसन्तानपनमा पुरुषसम्बन्धी कारणको भूमिका पनि महत्वपूर्ण हुने भएकाले त्यसलाई बेवास्ता गर्न नहुने चिकित्सकहरूको सुझाव छ।
.gif)

.png)


