पुरुष उत्तराधिकारमै अडिग जापानकी प्रधानमन्त्री ताकाइची
काठमाडौँ : जापानमा शाही उत्तराधिकारको भविष्यबारे चलिरहेका बहसबीच प्रधानमन्त्री साने ताकाइचीले पुरुष सन्तान मात्र सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिएकी छन्। संसदमा शुक्रबार बोल्दै उनले पुरुष–वंशका पुरुष सन्तानलाई मात्र योग्य ठहर गर्ने हालको व्यवस्थालाई सम्मान गर्ने बताइन्।
हालको कानूनअनुसार शाही परिवारको पुरुष पक्षका पुरुष सन्तान मात्र सिंहासनमा आरोहण गर्न सक्छन्। ६६ वर्षीय सम्राट नारुहितोकी एउटी मात्र छोरी, राजकुमारी आइको छिन्। त्यसैले शाही वंशको निरन्तरताको आशा अधिराजकुमार अकिशिनोका किशोर छोरा राजकुमार हिसाहितोमा केन्द्रित छ।
प्रधानमन्त्री ताकाइचीले सन् २०२१ मा विज्ञ प्यानलले प्रस्तुत गरेको प्रतिवेदन स्मरण गर्दै ‘शाही वंशका पुरुष–वंशका पुरुष वंशजहरूमा योग्यता सीमित गर्नु उपयुक्त हुन्छ’ भन्ने निष्कर्षलाई सम्मान गर्ने बताइन्। देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले भनिन्, “सरकार र म स्वयं पनि उक्त प्रतिवेदनलाई सम्मान गर्छौं।”
यसअघि उनले शाही उत्तराधिकारसम्बन्धी नियम संशोधन ‘जरुरी विषय’ भएको सङ्केत दिएकी थिइन्। सम्भावित विकल्पका रूपमा टाढाका पुरुष आफन्तलाई पुनः शाही परिवारमा ‘गोद लिएर’ ल्याउने विचारसमेत अघि सारिएको थियो।
जापानको राजवंश करिब दुई हजार ६०० वर्ष पुरानो मानिन्छ र परम्पराअनुसार पुरुष सन्तानमार्फत मात्र अघि बढ्ने विश्वास छ। यद्यपि विभिन्न सर्वेक्षणले महिलालाई पनि सिंहासनमा बस्ने अधिकार दिनुपर्ने पक्षमा उच्च समर्थन देखाएका छन्।
शाही उत्तराधिकारबारे बहस दशकौँदेखि चल्दै आएको छ। सन् २००५ मा सरकारी प्यानलले जेठो सन्तानलाई उत्तराधिकारी बनाउने सिफारिस गरेको थियो, जसले राजकुमारी आइकोको मार्ग खुल्ने सम्भावना देखाएको थियो। तर २००६ मा राजकुमार हिसाहितो जन्मिँदा बहस शिथिल भएको थियो।
सन् २०२१ मा नियुक्त अर्को विशेषज्ञ प्यानलले टाढाका पुरुष आफन्तलाई पुनः शाही परिवारमा समावेश गर्ने विकल्प सुझाएको थियो। तर व्यक्तिहरूले व्यक्तिगत जीवन र करियर त्यागेर शाही दायित्व स्वीकार गर्न तयार हुने–नहुने स्पष्ट छैन। प्यानलले विवाहपछि परिवार छोड्न बाध्य हुने शाही छोरीहरूले पनि सार्वजनिक कर्तव्य निरन्तरता दिन सक्ने व्यवस्था गर्न सुझाव दिएको थियो।
परम्परावादीहरूका अनुसार पुरुष सन्तानबाट टुट्न नदिई कायम राखिएको शाही वंश जापानको राष्ट्रिय पहिचान र स्थायित्वको आधार हो। युद्धपछिको संविधान अनुसार शाही परिवारसँग कुनै राजनीतिक अधिकार छैन, तर साङ्केतिक भूमिकामा उनीहरूको महत्त्व कायम छ।
ऐतिहासिक रूपमा शाही परिवारका महिलाहरूले छोरा जन्माउने सामाजिक दबाब सामना गर्नुपरेको उल्लेख छ। सम्राट नारुहितोकी पत्नी, महारानी मासा, जो पूर्व कूटनीतिज्ञ हुन्, दरबार प्रवेशपछि वर्षौंसम्म तनावसम्बन्धी स्वास्थ्य समस्याबाट गुज्रिनु भएको थियो। सम्राटकी आमा महारानी एमेरिटा मिचि पनि यस्तै स्वास्थ्य समस्याबाट प्रभावित भएकी थिइन्।
राजकुमार हिसाहितोकी दिदी, माको, ले आफ्नो विश्वविद्यालयकालीन साथी केई कोमुरोसँग विवाह गर्दा तीव्र मिडिया निगरानी र ट्याब्लोइड रिपोर्टिङको सामना गर्नुपरेको थियो। कोमुरो परिवारको आर्थिक अवस्थाबारे उठेका प्रश्नले विवाद चुलिएको थियो। पूर्वराजकुमारी माको जटिल पोस्ट–ट्राउमेटिक स्ट्रेस डिसअर्डरबाट प्रभावित भई विवाहपछि संयुक्त राज्य अमेरिका सरेकी थिइन्, जहाँ उनीहरूले सन्तान जन्माएका छन्।
.gif)

.png)


