प्रधानमन्त्री बालेन र जापानी प्रधानमन्त्री ताकाइचीबीच फोन संवाद
नेपालका बाढीपीडितलाई सहयोगको घोषणा
काठमाडौं : जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग फोन संवाद गर्दै नेपालमा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। मंगलबार अपराह्न ४ः१५ बजे भएको फोन संवादमा ताकाइचीले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा मृतकका परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेकी हुन्।
उनले नेपालमा बाढीपछि सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोज तथा उद्धारमा सहयोग गर्न नेपाल सरकारसँग आग्रहसमेत गरेकी छन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजी तथा उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएको ताकाइचीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। ताकाइचीले नेपालका बाढीपीडितलाई सहयोग गर्न जापानले पाल, कम्बललगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराउने घोषणा पनि गरेकी छन्। साथै अन्तर्राष्ट्रिय संस्थामार्फत थप सहयोग तथा अन्तर्राष्ट्रिय आपत्कालीन सहायता टोली नेपाल पठाउने तयारी भइरहेको उनले बताएकी छन्।
जापानी प्रधानमन्त्रीले प्राकृतिक विपद्को सामना गरिरहेका नेपालप्रति जापानको ऐक्यबद्धता जनाउँदै एसियाली मित्रका रूपमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। संयोगवश, नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ पनि मंगलबार नै परेको छ। ताकाइचीले प्रधानमन्त्री शाहसँग आगामी दिनमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
.gif)

.png)

