कोरला नाकाबाट साढे ६ अर्बभन्दा बढी राजस्व सङ्कलन

गत भदौदेखि जेठ १६ गतेसम्म यस नाकाबाट २ हजार ९९७ वटा इभी नेपाल भित्रिए


२०८३ जेठ २६ मंगलबार ०७:४४ बजे

जोमसोम, २६ जेठ :  नेपाल–चीन उत्तरी सीमा जोडिएको मुस्ताङको कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएयता अर्बौँ रुपैयाँ राजस्व सङ्कलन भएको छ । मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले गत जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

गत भदौ ३१ गतेदेखि व्यावसायिक रूपमा पूर्ण रूपमा सञ्चालनमा आएको यो नाकाबाट निकासी तथा पैठारी दुवैतर्फ उत्साहजनक रूपमा भन्सार असुली भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख विदुर चुँडालका अनुसार चीनबाट कोरला नाका हुँदै नेपालतर्फ पैठारी गरिएका मालवस्तुबाट ठुलो परिमाणमा राजस्व संकलन भएको छ । चीनबाट नेपालतर्फ मुख्य गरी विद्युतीय सवारी साधन (इभी), चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान तथा इलेक्ट्रोनिक सामग्रीहरू आयात भइरहेका छन् । त्यसैगरी नेपालबाट चीनतर्फ हस्तकलाका सामग्री र रैथाने नेपाली उत्पादनहरू निकासी भएका छन्, जसबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको प्रमुख चुँडालले जानकारी दिए ।

गत भदौदेखि जेठ १६ गतेसम्म यस नाकाबाट कुल २ हजार ९९७ वटा विद्युतीय सवारी साधन (इभी) नेपाल भित्रिएका छन् । यी इभी गाडीहरूको पैठारीबापत मात्रै ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

पछिल्लो समय चीनबाट आयात हुने यी विद्युतीय सवारी साधनको पैठारी प्रक्रियाले नयाँ मोड लिएको छ । जेठको दोस्रो सातादेखि कोरला नाका हुँदै भित्रिएका इभी गाडीहरूको आयात प्रक्रिया विवादमा परेपछि सरकारले यसलाई अनुसन्धानको दायरामा ल्याएको हो ।

भन्सार जाँचपास भइसकेका भनिएका ६४९ वटा विद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत (त्रुटि) भए/नभएको यकिन गर्न सरकारले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । यो प्रक्रिया विवादमा परेपछि सशस्त्र प्रहरीले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकाका विभिन्न स्थानमा ती विद्युतीय सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो ।

छानबिन समितिले नियन्त्रणमा लिइएका ती गाडीहरूको स्थलगत अनुगमन र प्राविधिक जाँचको कार्य सम्पन्न गरिसकेको छ । व्यावसायिक रूपमा निकै सम्भावना बोकेको कोरला नाका पछिल्लो समय इभी गाडी आयातको विवादका कारण चर्चा र अनुसन्धानको केन्द्र बनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७