ओली झन् उग्र र अनुदार

महासचिवलाई बैठक चलाउन रोक, नेताहरूमाथि अपमानपूर्ण टिप्पणी


२०८३ असोज ५ सोमबार २०:१९ बजे

काठमाडौं :  नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर बहस चर्किरहेका बेला सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले झनै उग्र र अनुदार रुपमा प्रस्तुत भएका छन् । 

ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा ओलीले महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिई आफैं कार्यसूची अघि बढाएपछि एमालेभित्रको आन्तरिक विवाद बैठक हलमै देखिएको छ।  महासचिवले बैठक सञ्चालन गर्ने प्रचलन रहे पनि ओलीले आफैं बैठक चलाएपछि नेता कृष्णगोपाल श्रेष्ठले त्यसको विरोध गरेका थिए।

श्रेष्ठले बैठक सञ्चालन विधि र प्रक्रियाअनुसार हुनुपर्ने भन्दै महासचिवलाई बैठक चलाउन दिनुपर्ने धारणा राखेका थिए। त्यस क्रममा ओली र श्रेष्ठबीच बैठक हलमै चर्काचर्की भएको थियो ।  श्रेष्ठले बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने भन्दै महासचिव पोखरेललाई बैठक चलाउन दिनुपर्ने धारणा राखेका थिए। त्यस क्रममा ओली र श्रेष्ठबीच बैठक हलमै चर्काचर्की भएको थियो।

ओलीले बैठक सञ्चालन गर्न खोजेपछि श्रेष्ठ आसनबाट उठेर आपत्ति जनाउँदै भनेका थिए, ‘यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि–प्रक्रियाअनुसार जानुपर्छ।’ श्रेष्ठको आपत्तिपछि ओलीले उनलाई तत्काल नबोल्न आग्रह गर्दै भनेका थिए, ‘तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन।’ ओलीको भनाइपछि श्रेष्ठ थप आक्रोशित हुँदै प्रतिवादमा उत्रिएका थिए। 

उनले ओलीलाई भनेका थिए, ‘तपाईं मलाई रोक्ने को हो ? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो, गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो ? यस्तो तरिकाले पार्टी चल्छ ?’

केन्द्रीय सदस्य कर्ण थापाले आफूले पनि राजनीतिक प्रतिवेदन बनाएको भन्दै पेश गर्न अनुमति मागेका थिए । तर ओलीले अनुमति दिएनन् । ‘त्यो म हेर्छु तपाईँ अहिले बस्नुस्’ भन्दै पन्छाइदिएका छन् ।

ओलीले बैठक सञ्चालनमा पनि कडा नियम लागू गरेका छन्। मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन निर्देशन दिइएको छ। मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत रोक लगाइएको छ। केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेटको समय दिइएको छ र बोल्दा वा आफ्नो आसन छाड्दा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

ओलीले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन छुट्टै प्रस्तुत गर्न रोकेका छन्।  ‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसक्यो। त्यसलाई सम्पत्तिको रूपमा राख्ने निर्णय भएको छ,’ ओलीले भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो।’

पार्टी पुनर्गठनका विषयमा महासचिव शंकर पोखरेलले प्रारम्भिक प्रतिवेदन तयार गरेका थिए। त्यसपछि ओलीकै निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अर्को प्रतिवेदन तयार पारेका थिए। दुईथरी प्रतिवेदन आएपछि विषय थप जटिल बनेको भन्दै ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले समेत अर्को प्रतिवेदन तयार गरेका थिए।

अध्यक्ष हटाउनुपर्छ भनेर बोल्ने को न्यायाधीश ?

ओलीले आफूलाई हटाउनुपर्छ भन्दै सामाजिक सञ्जाल र मिडियामा बोल्ने नेताहरूसँग आक्रोश पोखे ।  उनले पार्टीभित्रको बहस मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्ने भन्दै बोलेकोमा आपत्ति जनाए। ‘अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो । यस्ता कुरा बोल्ने को न्यायाधीश ?’ ओलीले भने, ‘तपाईं पार्टीभित्र हुनुहुन्छ भने कमिटीमा छलफल गर्नुस् । राय राख्नुस् ।’

उनले विपक्षीको मनोबल बढाउने भूमिका नखेल्न पनि चेतावनी दिए। ‘बाहिर गएर जग हँसाउने, पार्टीको अवस्था कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने क्रियाकलाप हुनुहुँदैन,’ उनले भने।

ओलीले पार्टीभित्रको ‘अराजकता’ नियन्त्रण गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने अवस्था आएको बताए। उनले पार्टीभित्र खुला बहस गर्नसमेत आग्रह गरे। उनले चुनौती सामना गर्न सक्ने गरी पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउनुपर्ने धारणा राखे। ‘वैचारिक, सांगठनिक ढंगले एकताबद्ध पार्टी बनाउनुपर्छ, अनुशासित, गतिशील पार्टी बनाउनुपर्छ। चुनौती सामना गर्ने पार्टीका रूपमा हामीले उभ्याउनुपर्छ,’ ओलीले भने।

बैठकअघि ओलीको उर्दी : शंकर पोखरेल र विष्णु पौडेलमाथि ‘जाइलाग्नू’

त्यसअघि अध्यक्ष ओलीले आफू निकट केन्द्रीय सदस्यहरूलाई उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताविरुद्ध ‘जाइलाग्न’ निर्देशन दिएको स्रोतले जनाएको छ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा आइतबार साँझ भक्तपुरको गुन्डुस्थित निजी निवासमा आफू निकट नेताहरूलाई बोलाएर ओलीले पौडेल र पोखरेल नेपाली कांग्रेसका सभापति गगन थापाको बाटोमा हिँड्न खोजेको आरोप लगाउँदै बैठकमा उनीहरूको कडा प्रतिवाद गर्न निर्देशन दिएको स्रोतको दाबी छ।

ओलीको निवास पुगेका केन्द्रीय सदस्यहरूलाई उनले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा लामो ब्रिफिङ गरेका थिए। सचिव महेश बस्नेतसहितको बैठकमा ओली पौडेल र पोखरेलप्रति आक्रोशित रूपमा प्रस्तुत भएको सहभागी एक केन्द्रीय सदस्यले बताए।

ती नेताका अनुसार ओलीले भनेका थिए, ‘शंकर पोखरेल, विष्णु पौडेलहरू गगन थापाको बाटो हिँड्न खोज्दैछन्। सिलसिलेवार र योजनाबद्ध हिसाबले बैठकमा प्रतिवाद गर्नुपर्छ, जाइलाग्नुपर्छ। यिनीहरूलाई कुखुरा भुत्लाए जसरी भुत्लाउनुपर्छ।’

यसअघि आइतबार बसेको एमाले सचिवालय बैठकमा पनि अध्यक्ष ओली पौडेल र पोखरेलप्रति आक्रामक रूपमा प्रस्तुत भएको बताइएको छ।एमाले पुनर्गठन कार्यदलले तीनबुँदे सहमति गर्दै सचिवालय बैठकमा तीनवटा प्रतिवेदनलाई एकीकृत गरी प्रतिवेदन पेस गरेको थियो। तर ओलीले उक्त प्रतिवेदनप्रति असहमति जनाउँदै त्यसलाई ‘कागजको टुक्रा’ अर्थात् ‘चिर्कटो’को संज्ञा दिएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७