काठमाडौँमा स्वीप अपरेसन, २४ घण्टामा ७५ पक्राउ

२ महिलासहित ७५ जना पक्राउ


२०८३ कार्तिक ११ मंगलबार १८:५३ बजे

काठमाडौं : काठमाडौँ उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ७५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ६० पुरुष र १४ महिला छन् भने अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्नुका साथै आपराधिक गतिविधिको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको जानकारी दिए।

सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सार्वजनिकस्थल तथा यातायातका साधनमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

अभियानका क्रममा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदारसमेत पक्राउ परेका छन्। त्यस्तै, विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विशेषगरी सार्वजनिक यातायात, भीडभाड हुने स्थान तथा सेवाग्राहीको बढी उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७