ससुराली गएर श्रीमतीको हत्या गरेपछि गरे आत्महत्या, छोरामाथि पनि चक्कु प्रहार
जनकपुरधाम : धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। श्रीमतीको हत्या गरेपछि फरार भएका उनी पछि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा गएर श्रीमती ३० वर्षीया रिना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उमेशले गएराति करिब ९ बजे ससुराली पुगेका थिए। बिहान करिब २ बजे उनले श्रीमतीसँगै सुतेका चार वर्षीय छोरा सम्राट यादवमाथि पनि धारिलो हतियार प्रहार गरेको उनले बताए।
घटनामा घाइते बालकको दाहिने तिघ्रामा चोट लागेको छ। प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कु बरामद गरेको छ।
घटनापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रूखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
.gif)

.png)



