कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा
ललितपुर : ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
कुनै अवरोध नआए एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ललितपुर महानगरपालिकाले जनाएको छ।
सडक पार गर्ने क्रममा यस क्षेत्रमा भएका दुर्घटनामा १९ जनाले ज्यान गुमाइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
स्थानीयवासीको विशेष अनुरोधपछि सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लिफ्टसहितको आकाशे पुल निर्माण गरिएको उनले बताए।
पुलमा हिँड्न सक्ने व्यक्तिका लागि भर्याङको व्यवस्था गरिएको छ भने हिँडडुल गर्न कठिनाइ हुने तथा ह्वीलचेयर प्रयोग गर्ने व्यक्तिका लागि दुवैतर्फ लिफ्ट राखिएको छ।
यसले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य अशक्त व्यक्तिलाई सडक वारपार गर्न सहज हुने महानगरको अपेक्षा छ।
महानगर प्रमुख महर्जनका अनुसार पुल निर्माणको अनुमानित लागत करिब ५ करोड २० लाख रुपैयाँ रहेको छ।
अपाङ्गतामैत्री संरचनासहितको पुल सञ्चालनमा आएपछि कुसुन्ती क्षेत्रमा सडक पार गर्दा हुने दुर्घटनामा कमी आउने महानगरपालिकाको विश्वास छ।
.gif)

.png)



