केपी ओलीको व्यङ्ग्य, ‘नक्कली भगवान् जन्मिएर हैरान छ’


२०८३ कार्तिक ११ मंगलबार १७:३१ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा ‘नक्कली भगवान्’ जन्मिने क्रम बढेको भन्दै व्यङ्ग्य गरेका छन्। 

आफ्नै देशका विद्वान् र ज्ञानलाई बेवास्ता गर्ने तर बाहिरबाट आउने व्यक्तिलाई सहजै देवत्वकरण गर्ने प्रवृत्तिप्रति पनि उनले कटाक्ष गरेका छन्।

मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी पौराणिक प्रसङ्ग जोडेर ‘नक्कली भगवान्’माथि व्यङ्ग्य गरेका हुन्।

‘२२–२३ सय वर्षअघि भगवान्हरू छ्यासछ्यासती जन्मिँदा तेत्तीसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्,’ ओलीले भने, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ।’

ओलीले नेपाली समाजमा दक्षिणतिरबाट आउने जोगीलाई विशेष सम्मान गर्ने तर आफ्नै देशका विद्वान्लाई चिन्न नसक्ने प्रवृत्ति रहेको बताए।

‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ,’ उनले भने, ‘आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ।’

उनले नेपाली विद्वान्ले तर्कपूर्ण र तथ्यपूर्ण लेखन गरे पनि आफ्ना ग्रन्थमा विदेशी विद्वान्का भनाइ र उदाहरणलाई बढी उद्धृत गर्ने परिपाटी रहेको टिप्पणी गरे।

आफ्नै देशका विद्वान्का विचार, ज्ञान र योगदानलाई उचित महत्त्व दिनुपर्ने उनको भनाइ थियो।

ओलीको टिप्पणीले नेपाली समाजमा आफ्नै ज्ञान र विद्वताको सम्मान गर्ने तथा बाह्य व्यक्तिप्रतिको अन्धश्रद्धाबारे बहसलाई पुनः सतहमा ल्याएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७