आनीको नियुक्त प्रकरणमा प्रश्न उठाउनेलाई नतर्साउनुस् कांग्रेसको चेतावनी
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरी पछि छाडिएको घटनाप्रति आपत्ति जनाएका छन्।
पौडेलले विवादास्पद नियुक्तिबारे सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गर्नु गलत भएको भन्दै सरकारको कार्यशैलीको आलोचना गरेका हुन्।
उनले लुम्बिनी विकास कोष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्था भएको उल्लेख गर्दै यसको नेतृत्व चयन गर्दा लोकप्रियतामात्र नभई योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनुपर्ने बताएका छन्।
‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो,’ पौडेलले भनेका छन्।
उनले उपाध्यक्ष नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै सरकारले ती प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।
उनका अनुसार प्रश्नको निरूपण नगरी सरकारले नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न सक्दैन। सरकारलाई विरोधभन्दा पनि सुझाव दिएको उल्लेख गर्दै पौडेलले गलत निर्णय सच्याउन आग्रह गरेका छन्।
‘राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ उनले भनेका छन्।
.gif)

.png)



