अफताव आलमका छोरा फिरदोस कांग्रेस सहमहामन्त्री निर्वाचित


२०८३ असोज २९ बिहीबार १३:५४ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका छोरा मो. फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट उनी मधेशी क्लस्टरतर्फ सहमहामन्त्री बनेका हुन्।

कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ। 

फिरदोस पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन्। गत २१ फागुनमा सम्पन्न निर्वाचनमा उनी रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उक्त निर्वाचनमा फिरदोसले २९ हजार ५२८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए।

फिरदोसका पिता मोहम्मद अफताव आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका नेता थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डसम्बन्धी मुद्दाका कारण चर्चामा आएका थिए।

उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो।

सफाइपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते काठमाडौंमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो।

पिताको राजनीतिक विरासत बोकेका फिरदोसले प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेपछि कांग्रेसको पदाधिकारी तहमा समेत जिम्मेवारी पाएका छन्। मधेशी क्लस्टरबाट सहमहामन्त्रीमा उनको निर्वाचनसँगै पार्टीको केन्द्रीय नेतृत्वमा उनको भूमिका थप महत्त्वपूर्ण बनेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७