दाङका घिमिरे दाजुभाइ बने कांग्रेस केन्द्रीय सदस्य, खुमबहादुरका छोरा पनि निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दाङका ६ जना नेता केन्द्रीय कार्यसमितिमा पुगेका छन्।
निर्वाचित हुनेमा एक जना पदाधिकारीसहित पाँच जना केन्द्रीय सदस्य छन्। जिल्लाबाट उम्मेदवारी दिएका १६ जनामध्ये १० जना भने पराजित भएका छन्।
महाधिवेशनबाट दाङका सहोदर दाजुभाइ किरण किशोर घिमिरे र कमल किशोर घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
दाजु किरण खुलातर्फबाट निर्वाचित हुँदा भाइ कमल लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्य बनेका हुन्।
दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने योगेन्द्र चौधरी थारू क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए।
चौधरी १४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट पहिलोपटक केन्द्रीय सदस्य बनेका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित भएका थिए। उनका सहोदर दाजु सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद हुन्।
यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन्।
बुवाको निधनपछि राजनीतिमा सक्रिय भएका अनुराग १४औँ महाधिवेशनमा दाङ क्षेत्र नम्बर १ बाट सर्वाधिक लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
२०७९ सालको निर्वाचनमा २८ वर्षको उमेरमा दाङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्य बनेका उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेका थिए।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने पूर्वराष्ट्रियसभा सदस्य अनिता देवकोटा महिला खुला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
त्यस्तै, लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री प्रचण्डविक्रम न्यौपाने भूगोलतर्फबाट केन्द्रीय सदस्य बनेका छन्।
उनी २०७९ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
यसैबीच दाङका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ बाट कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने कुनै पनि नेता निर्वाचित हुन सकेनन्।
यस क्षेत्रबाट उम्मेदवारी दिएका सबै नेता पराजित भएपछि केन्द्रीय समितिमा क्षेत्र नम्बर ३ को प्रतिनिधित्व शून्य भएको छ।
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय दीपक गिरी उपसभापति पदमा पराजित भए। ३५ वर्षदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका गिरी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएका थिए।
उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।
क्षेत्र नम्बर ३ कै लगातार तीन कार्यकाल क्षेत्रीय सभापति बनेका जगतबहादुर खड्का खस आर्य समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन्।
गोविन्दबहादुर शाह (शम्भू) खुला केन्द्रीय सदस्यमा पराजित भए भने डा. नहकुल केसी र मोहन लम्साल विज्ञ समूहबाट पराजित भए। देविका नेपाली घिमिरे पनि दलित समूहबाट निर्वाचित हुन सकिनन्।
क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा दलित समूहबाट पराजित भए।
क्षेत्र नम्बर १ का प्रदीपराज शर्मा भूगोलतर्फबाट पराजित भए। उनी यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै, महिला भूगोलतर्फ गिरिजादेवी न्यौपाने र दलित महिला समूहबाट लीला नेपाली पनि पराजित भएका छन्। यससँगै दाङबाट उम्मेदवारी दिएका १६ जनामध्ये ६ जनाले केन्द्रीय कार्यसमितिमा स्थान बनाउँदा १० जना बाहिरिएका छन्।
.gif)

.png)



