अविस्मरणीय साँझ रचिरहेको कीर्तिपुर
गोधूलीको सुनौलो आभामा क्रिकेटको उज्यालो
काठमाडौं : अस्ताउँदो घामको आभा, हिमालको पृष्ठभूमि र फ्लडलाइटको उज्यालोमा नुहाएको क्रिकेट मैदान। कीर्तिपुरको यो दृश्यले नेपाल प्रिमियर लिग (एनपीएल) लाई खेलमा मात्र सीमित राखेको छैन, आँखैमा बसिरहने एउटा सुन्दर साँझमा बदलिदिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करणअन्तर्गत तेस्रो खेल चलिरहेको छ। मैदानमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने छन्। खेलको रोमाञ्चसँगै कीर्तिपुरको प्राकृतिक सौन्दर्य र क्रिकेटको माहोलले दर्शकलाई आकर्षित गरेको छ।
खेल हेर्न मैदान पुगेका दर्शकको उल्लेख्य उपस्थितिले वातावरण थप जीवन्त बनेको छ। दर्शकको उत्साह, खेलाडीको प्रतिस्पर्धा र चारैतिर फैलिएको उज्यालोले कीर्तिपुरलाई क्रिकेटमय बनाएको छ।
गोधूलीको रङ बिस्तारै हराउँदै जाँदा फ्लडलाइटले मैदानलाई झनै चम्किलो बनाएको छ। आकाशको बदलिँदो रङ र मैदानको उज्यालोबीच देखिने यो दृश्यले खेल हेर्न आएका दर्शकलाई मात्रै होइन, तस्बिरमा कैद गर्न चाहनेलाई समेत लोभ्याउँछ।
कीर्तिपुरमा अहिले क्रिकेटको प्रतिस्पर्धा मात्रै चलिरहेको छैन, खेल, प्रकृति र दर्शकको उत्साहले मिलेर एउटा अविस्मरणीय साँझ रचिरहेका छन्।



तस्बिरहरु : नेपाल प्रिमियर लिग (एनपीएल) पेज
.gif)

.png)



