न्यायालयबारे उठेका सवाल अध्ययन गर्न नेपाल बारले बनायो समिति
काठमाडौं : न्यायक्षेत्रमा पछिल्लो समय उठेका प्रश्न र टिप्पणीबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरेको छ ।
नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्ष उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन् ।
समितिको सदस्य सचिवमा नेपाल बारका केन्द्रीय सदस्य बाबुराम अर्याल छन् ।
बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार समितिलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ । समितिले हालको न्यायालयबारे उठेका टिप्पणीका तथ्य संकलन गर्नुका साथै समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझावसमेत दिनेछ ।
नेपाल बारको कार्यसमिति र सल्लाहकार समितिसहितको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
.gif)

.png)




