नेपाली राष्ट्रवादलाई भारतविरोधी ठान्ने युग सकियो : अर्थमन्त्री वाग्ले


२०८३ कार्तिक ६ शुक्रबार १४:४९ बजे

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने पुरानो सोचको समय सकिएको बताएका छन्।

उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, रोजगारी, सुशासन र छिमेकीसँगको सकारात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा शुक्रबार बोल्दै वाग्लेले नेपालको परराष्ट्र नीति र भारतसँगको सम्बन्धलाई आर्थिक अवसर तथा व्यावहारिक सहकार्यका आधारमा अघि बढाउनुपर्ने बताएका हुन्।

विगतमा दशकौँसम्मको वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनको भनाइ थियो। तर अहिलेको पुस्ताको सोच र आकांक्षा फरक रहेको उनले बताए।

‘हाम्रो पुस्ता फरक छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन्’, वाग्लेले भने, ‘हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ। नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग अब सकियो।’

उनले नेपालको परराष्ट्र नीति, आर्थिक कूटनीति र सरकारी कामकारबाही पनि सकारात्मक तथा यथार्थपरक सोचअनुसार अघि बढिरहेको बताए।

नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन यसै वर्षको अन्त्यअघि प्रधानमन्त्रीले भारत भ्रमण गर्ने अपेक्षा रहेको पनि उनले जानकारी दिए।

अर्थमन्त्री वाग्लेले नेपाल र भारतको भाग्य तथा भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिका लागि भारतसँगको सहकार्य महत्त्वपूर्ण रहेको बताए।

भूपरिवेष्ठित मुलुकका लागि छिमेकी देशको आर्थिक विकासले सकारात्मक प्रभाव पार्ने तर्क गर्दै उनले छिमेकीको अर्थतन्त्र एक प्रतिशतले विस्तार हुँदा भूपरिवेष्ठित देशको आर्थिक वृद्धिमा औसत ०.७ प्रतिशत योगदान पुग्ने तथ्यांक प्रस्तुत गरे।

नेपालले भारतबाट थप प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको र नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउनुपर्ने अपेक्षा राखेको पनि उनले बताए।

उनका अनुसार व्यापार विस्तार, लगानी वृद्धि र आर्थिक सम्बन्धको सुदृढीकरण नेपालको समृद्धिका लागि महत्त्वपूर्ण छन्।

वाग्लेले नेपाल–भारत सम्बन्ध भूगोल र अर्थतन्त्रमा मात्र सीमित नभई साझा सभ्यता र ऐतिहासिक सम्बन्धसँग पनि जोडिएको बताए।

सन् २०१५ को विनाशकारी भूकम्पदेखि हालैका बाढीपहिरोसम्मका विपद्का बेला भारतले सहयोग गरेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा भारतको भूमिकाप्रति नेपाल आभारी रहेको बताए।

उनको भनाइले नेपालले भारतसँगको सम्बन्धलाई पुराना राजनीतिक भाष्यभन्दा माथि उठाएर आर्थिक विकास, लगानी, व्यापार र पारस्परिक सहकार्यमा केन्द्रित गर्न चाहेको संकेत गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७