दानबहादुर कार्कीलाई घरमै पुगेर थमाइयो विशेष सल्लाहकार नियुक्तिको पत्र
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिपत्र बुझाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र कार्कीले सुरुमा बुझ्न नमानेपछि गृह मन्त्रालयका एक कर्मचारीले गत १८ कात्तिकमा उनको घरमै पुगेर पत्र बुझाएको उच्च स्रोतले जनाएको छ ।
‘उहाँले सल्लाहकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ उच्च स्रोतले भन्यो ।
गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो ।
कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ ।
तर, सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन् । आईजीपी पदमा पुनर्बहालीको माग गर्दै उनले रिट दायर गरेका हुन् ।
उक्त रिटमा सोमबारका लागि पेसी तोकिएको भए पनि सार्वजनिक बिदाका कारण सुनुवाइ नहुने भएको छ ।
.gif)

.png)




