विकास र समृद्धिका लागि सहकार्य र संवाद आवश्यक : सभामुख अर्याल


२०८३ कार्तिक ३० सोमबार १९:२४ बजे
फाइल फोटो

महोत्तरी : सभामुख डोलप्रसाद अर्यालले मधेशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासलाई समृद्धिको आधारका रूपमा अघि बढाउन सबै पक्षबीच सहकार्य, संवाद र साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

छठ पर्व मनाउन मधेश आएका सभामुख अर्यालले सोमबार दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाटमा यस्तो बताएका हुन् । ‘हामीले मधेशको शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिएर काम गर्नुपर्ने छ,’ उनले भने, ‘विकासका यी मुद्दामा सबै पक्षबीच आपसी संवाद बढाएर परिणाम देखिने काम हुनुपर्छ ।’

कृषिमा आधारित उद्योगधन्दा विकास गर्न सके रोजगारीका अवसर सिर्जना हुने र त्यसले विदेश पलायनको क्रम रोक्न मद्दत पुग्ने उनले बताए ।

यसपटक छठ पर्वका लागि मधेश आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप र सहिष्णुताले आफूलाई उत्साहित बनाएको सभामुख अर्यालले उल्लेख गरे । चाडपर्वमा देखिने यस्तो सद्भावलाई विकासका काममा समेत रूपान्तरण गर्न सके अपेक्षित समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

राजनीतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै उनले राजनीति सुशासन र विकासप्रति समर्पित हुनुपर्ने बताए । यसका लागि जनताले आफ्ना प्रतिनिधिलाई निरन्तर खबरदारी गर्नुपर्ने उनको धारणा थियो ।

संसद्ले दीर्घकालसम्म जनताले अपनत्व लिन सक्ने कानुन निर्माण गर्नुका साथै संविधान संशोधनका विषय पहिचान र टुङ्गो लगाउनुपर्ने उनले बताए ।

‘कमसेकम अहिलेको हाम्रो पुस्ताको कामलाई हाम्रा नाति पुस्ताले बाजेहरूले ठीकै गर्न खोजेका रहेछन् भन्ने अनुभूति लिन सकुन्,’ उनले भने, ‘राम्रो परिणामका लागि फेरि पनि हामीबीच समुन्नत सहमति, सहकार्य र सहअस्तित्व हुनुपर्छ ।’

वीरगञ्जमा छठ पर्व सम्पन्न गरेर हुलाकी सडक हुँदै बर्दिवास पुगेका सभामुख अर्याल स्थानीयसँगको भेटघाटपछि काठमाडौं फर्किएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७