उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी विस्तार गर्न मन्त्री वाग्लेको आग्रह
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको भन्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् ।
उनले बैंकबाट प्रवाह हुने कर्जा अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए । बैंकिङ क्षेत्रमा जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री वाग्लेले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउन तथा साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।
नेपाल बैंकको ऐतिहासिक गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लामो समय सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा बैंकको डिजिटल कर्जा उत्पादनसमेत शुभारम्भ गरिएको थियो ।
.gif)

.png)




