भारतका लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा पर्याप्त अवसर छ, लगानी गर्नुस्


२०८३ असोज ३ शनिबार २०:०७ बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शनिबार नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै भारतीय व्यवसायीलाई लगानी गर्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले नेपालमा उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गरे ।

उनले सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन तथा उत्पादन साझेदारीमा आधारित उत्पादन क्षेत्र नेपालको आर्थिक रूपान्तरणका महत्त्वपूर्ण आधार बन्दै गएको बताए । ‘भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ,’ उनले भने ।

नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण तथा संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको पनि अर्थमन्त्री वाग्लेले बताए ।

उनले वार्षिक बजेट, कर सुधार तथा लगानीकर्तामैत्री नीतिगत पहलमार्फत व्यावसायिक वातावरण सुधार, लगानीका बाधा हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन सरकारले काम गरिरहेको स्पष्ट पारे ।

नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उनको भनाइ थियो ।

कार्यक्रममा भारतीय व्यावसायिक नेता तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७