शव व्यवस्थापनमा सरकारको नीति बेठीक भयो : शंकर पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनमा सरकारले अपनाएको नीतिमाथि प्रश्न उठाएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले शव पहिचान र व्यवस्थापनको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। डिएनए परीक्षणपछि आवश्यक परे पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि यसबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको भनाइ छ।
‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ,’ पोखरेलले भने, ‘डिएनए परीक्षणपछि पुनः उत्खनन गर्ने हिसाबले शव व्यवस्थापन गरिएको अवस्था छ। तर पीडितहरूको दृष्टिकोणबाट हेर्दा उनीहरू चित्त बुझाउने अवस्थामा छैनन्।’ उनले शव व्यवस्थापनको विषयमा पीडित परिवारबाट समेत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
यसैबीच एमालेले रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पंक्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पोखरेलले जानकारी दिए। पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिने उनले बताए। प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वयका लागि फोकल पर्सन तोकेर राहत तथा उद्धारका काम अघि बढाउनसमेत निर्देशन दिइएको पोखरेलले जानकारी दिए।
.gif)

.png)

