बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् जोड्ने काम तीव्र

रातिसम्म आरूघाटका सबै क्षेत्रमा प्रयास


२०८३ असोज २६ सोमबार १८:३९ बजे
फाइल फोटो

काठमाडौं : बुढीगण्डकी र स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न गोरखामा मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ। आरूघाटका बाँकी क्षेत्रमा रातिसम्म विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबार आरूघाट गाउँपालिका–३ को केउरपानी र ढुंगेमा रहेका दुई वटा ट्रान्सफर्मर चार्ज गर्ने अन्तिम तयारी भइरहेको छ।

आरूघाट गाउँपालिका–३ का सोती, लिदिङ र स्यामराङका तीन वटा ट्रान्सफर्मर तथा धार्चे गाउँपालिकाका सबै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ। अन्य क्षेत्रमा भने विद्युत् सेवा सञ्चालनमा आइसकेको नेपाल विद्युत् प्राधिकरणको आरूघाट वितरण केन्द्रले जनाएको छ।

विद्युत् मर्मतका लागि कर्मचारी बिहानै कार्यस्थलमा पुगे पनि सडक दिउँसो ३ बजे मात्रै खुलेपछि काममा ढिलाइ भएको वितरण केन्द्रले जनाएको छ।

सडक खुल्दै गएसँगै मर्मत गरेर विद्युत् सेवा सञ्चालन गर्दै जाने र रातिसम्म आरूघाटका सबै क्षेत्रमा विद्युत् पुर्‍याउने प्रयास जारी रहने केन्द्रको भनाइ छ।

बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका आयोजनाका निर्माणस्थल, शिविर, उपकरण, सामग्री, पहुँच सडक र पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोल ढलेका छन्।

सोती, आर्खेत र आरूघाट बजार क्षेत्रका वितरण लाइनका पोलमा समेत क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारमा पनि न्यून भोल्टेजका छ वटा पोलमा क्षति पुगेको छ।

मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीबाट विद्युत् सेवा अवरुद्ध भएलगत्तै नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम थालेको थियो।

करिब १० घण्टामै भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा सञ्चालन गरिएको थियो। आरूघाट बजारसहित डाँडागाउँ र आरूपोखरी शाखामा पनि सेवा पुनः सञ्चालन भइसकेको छ।

मन्त्रालयले यसै हप्ताभित्र बाढीबाट प्रभावित सबै स्थानमा विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७