बुढीगण्डकी बाढीको कारण खोज्न तीन भूगर्भविद् परिचालन

सेनाले गर्‍यो ८४ जनाको उद्धार


२०८३ असोज २६ सोमबार ०८:३८ बजे
फाइल फोटो

काठमाडौं : बुढीगण्डकी नदीमा आएको भीषण बाढीको वास्तविक कारण पत्ता लगाउन सरकारले तीन जना भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। 

बाढीको उद्गमस्थल र त्यसको प्रकृति अझै स्पष्ट नभएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययनका लागि टोली खटाएको हो।

टोलीले प्रभावित क्षेत्रको भौगर्भिक अवस्था, पहिरोको प्रकृति र नदी थुनिनुको कारणबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र अहिले बुढीगण्डकीमा आएको बाढीको प्रकृति उस्तै देखिएको प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले जानकारी दिए।

भोटेकोशीमा तिब्बत क्षेत्रको हिमनदी खसेपछि बाढी आएको आशंका गरिएको थियो। 

उक्त घटनामा ठुलो मानवीय क्षति भएको थियो भने बुढीगण्डकीमा समयमै पूर्वसूचना जारी गरिएकाले हालसम्म मानवीय क्षतिको खबर प्राप्त नभएको उनले बताएका छन्।

बुढीगण्डकीको बाढीले भने सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको छ।

समयमै सूचना दिँदा ठुलो मानवीय क्षति टर्‍यो

नेपाली सेनाको श्री नम्बर ३ बाहिनी अड्डालाई बिहान ५ः५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक सूचना प्राप्त भएको थियो।

त्यसपछि गोरखास्थित रुद्रध्वज गणको सुरक्षा पोस्ट बाङ्गसिङबाट बिहान ६ः१५ बजे रेकी टोली परिचालन गरिएको थियो।

टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरेको थियो।

त्यसपछि तटीय क्षेत्रका बासिन्दालाई समयमै सतर्क गराइएकाले ठुलो मानवीय क्षति हुनबाट जोगिएको सेनाले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट नेपाली सेनाको टोली परिचालन गरिएको जानकारी दिएका छन्।

जोखिममा रहेको जगत क्षेत्रमा रहेका ६ जनालाई हवाई उद्धार गरिएको उनले बताएका छन्।

त्यस्तै, काठमाडौँबाट ‘कम्पोजिट क्विक रिएक्सन टिम’ समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा पठाइएको छ।

चार हेलिकप्टरबाट उद्धार

खोज तथा उद्धारका लागि चारवटा हेलिकप्टर र पैदल सैनिक टोली परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। हालसम्म नौ जना विदेशी नागरिकसहित ८४ जनाको सकुशल उद्धार गरिएको उनले बताए।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ। जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र प्रभावित क्षेत्रमा आवश्यक सहायता पुर्‍याउने काम भइरहेको छ।

विपद्लगत्तै सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन राहत सामग्री पठाएको छ। प्राधिकरणले साँझ जारी गरेको सूचनाअनुसार प्रभावित क्षेत्रमा ५० थान टेन्ट, ५० वटा त्रिपाल, २०० म्याट्रेस, २०० कम्बल र २०० स्लिपिङ ब्याग पठाइएको छ।

त्यसैगरी, १०० वटा सोलार लाइट, १० वटा जेनेरेटर, १ हजार ३२० ज्याकेट, २० हाइजिन किट, फुड बास्केट, १० बेबी बास्केट र २० रासन ब्यागसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको प्राधिकरणले जनाएको छ।

स्थानीय प्रशासनलाई आवश्यकताअनुसार थप राहत सामग्री उपलब्ध गराउन निर्देशन दिइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ।

प्रभावित क्षेत्रमा आवश्यक आकस्मिक उपचार, स्वास्थ्य सहायता र अन्य सेवा उपलब्ध भए–नभएको विषयमा निरन्तर अनुगमन भइरहेको छ। बाढीबाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको छ।

बुढीगण्डकी बाढीको वास्तविक कारण भने भूगर्भविद्को स्थलगत अध्ययनपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७