प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको चेतावनी : ‘सङ्गठनको मर्यादा नाघेर स्वार्थमा नलाग्नू’
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपर्न तथा सङ्गठनको मर्यादा विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा र इमानदारीलाई पेसागत सफलताको पहिलो मानकका रूपमा प्रस्तुत गरेका हुन्।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै उनले तालिममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।
‘मलाई विश्वास छ– यहाँहरू कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन। आफ्नो सङ्गठनको प्रोटोकल विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन,’ प्रधानमन्त्री शाहले भने।
उनले प्रहरी सेवामा पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको सही रूपमा पालना गर्नुपर्नेमा जोड दिए। जिम्मेवारीप्रतिको जबाफदेहितालाई पनि उनले प्रहरीको पेसागत सफलताको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे।
प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र सङ्कटका बेला नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेको बताए।
प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा अनुचित प्रभावबाट मुक्त रहनुपर्ने र नागरिकमाथि कुनै पनि प्रकारको भेदभाव गर्न नहुने उनको भनाइ थियो। ‘आम नागरिकहरूलाई अनुभूत हुने गरी काम गर्न यहाँहरूलाई आग्रहसमेत गर्दछु,’ उनले भने।
उनले नयाँ प्रहरी निरीक्षकहरूको असल कर्मले नै उनीहरूको भविष्य निर्माण गर्ने उल्लेख गर्दै कर्तव्य निर्वाहमा प्रतिबद्ध रहन आग्रह गरे।
प्रधानमन्त्री शाहले समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेको उल्लेख गर्दै अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको बताए।
प्रविधिको प्रयोगबाट प्रहरीको काम छिटो, छरितो र पारदर्शी बनाउन सकिने उनको भनाइ थियो। यसले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुका साथै प्रहरी सेवामा समयानुकूल सुधार ल्याउन सहयोग पुग्ने उनले बताए।
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठन, नेतृत्व र प्रशिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई कार्यसफलताको शुभकामना दिएका थिए।
प्रहरी सेवामा प्रवेश गर्न छोराछोरीलाई निरन्तर प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गर्दै उनले समारोह आयोजक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवादसमेत दिए।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।
.jpeg)
.gif)

.png)


